आयल निगमको वार्षिक गोष्ठी

नेपाल आयल निगम लिमिटेडको वार्षिक समीक्षा गोष्ठीमा सिनामंगलस्थित हवाई इन्धन डिपो, पोखरास्थित गण्डकी प्रादेशिक कार्यालय, नेपालगन्जस्थित इन्धन डिपो र धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुखको आलोचना भएको छ ।

निगमले गत शुक्रबार र शनिबार ‘आर्थिक वर्ष ०७९/८० को प्रगति समीक्षा तथा आगामी आव ०८०/८१ को नीति तथा कार्यक्रम र बजेट तर्जुमासम्बन्धी कार्यशाला गोष्ठी’ सम्पन्न गरेको छ ।

गोष्ठीमा बजेट खर्चबाहेक देशभरका डिपोबाट उपभोक्तालाई सहज रूपमा इन्धन वितरण भए–नभएकाेबारे पनि छलफल भएको थियो ।

स्रोतका अनुसार बजेटका विषयमा छलफल सकिएपछि सबै डिपो प्रमुखले आ–आफ्ना क्षेत्रका पेट्रोलपम्पमार्फत उपभोक्तालाई इन्धन वितरण गरेको अवस्थाबारे ‘प्रिजेन्टेसन’ दिएका थिए ।

सबैको ब्रिफिङ सुनेपछि आपूर्ति तथा वितरण विभागका निर्देशक दीपक बरालले निर्देशन दिने क्रममा देशकै सबैभन्दा ठूलो हवाई इन्धन डिपो सिनामंगलको सञ्चालन प्रणालीप्रति असन्तुष्टि जनाएका थिए ।

सो डिपो प्रमुखका रूपमा प्रबन्धक मनोज ढकालले गत फागुनदेखि जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी त्यहाँ गएयता डिपोको तेल चुहावट दर बढेको छ ।

कार्यक्रममा निर्देशक बरालले डिपो प्रमुख हुने व्यक्तिमा प्राविधिक ज्ञान हुनुपर्ने भन्दै ढकालको कार्यशैलीको आलोचना गरेका थिए ।

‘हामीले प्राविधिक विषय पढेर आएका छैनौँ भने तालिमहरू लिएर भए पनि डिपो प्रमुखमा हुनुपर्ने गुण विकास गर्नुपर्छ ।

डिपो सुरक्षा र सञ्चालनमा ध्यान दिन नसक्ने, तर डिपो प्रमुख हुन मात्रै रहर गरेर हुँदैन,’ बरालले निर्देशन दिने क्रममा भनेको कुरा उदृत गर्दै स्रोतले भन्यो ।

सिनामंगल डिपोमा हुने तेलको नोक्सानी दर ०.६२ प्रतिशत तोकिएको छ । तर, केही समयअघि नोक्सानी दर ०.५९ प्रतिशत पुगेपछि नियन्त्रणका लागि चार कर्मचारी खटाइएको छ ।

ती कर्मचारी गएपछि सिनामंगलको नोक्सानीदरमा केही कमी आउन थालेको गोष्ठीमा जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *