विश्वभर ईभीको बजार हिस्सा अहिलेसम्मकै उच्च विन्दुमा

विश्वभर बिक्री हुने कुल प्यासेन्जर कारमध्ये विद्युतीय गाडी (ईभी) को हिस्सा ३१ प्रतिशत पुगेको छ । सन् २०२६ को पहिलो नौ महिनामा ईभीको बजार हिस्सा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।

अष्ट्रेलियाको कमनवेल्थ बैंकका सस्टेनेबल एन्ड इनर्जी इकोनोमिस्ट जोन ओहका अनुसार पेट्रोलियम पदार्थको बढ्दो मूल्य र ऊर्जा सुरक्षासम्बन्धी चिन्ताले विश्वभर ईभीको माग बढिरहेको छ । उक्त तथ्यांकमा ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी) र प्लग–इन हाइब्रिड (पीएचईभी) दुवै समावेश छन् ।

युरोप ईभी बिक्री वृद्धिको प्रमुख क्षेत्र बनेको छ । सन् २०२६ मा युरोपमा ईभी बिक्री ३७ प्रतिशतले बढेको छ । त्यहाँ कुल प्यासेन्जर कार बिक्रीमा ईभीको हिस्सा ४३ प्रतिशत पुगेको छ ।

उदीयमान बजारमा पनि ईभीको माग तीव्र रूपमा बढिरहेको छ । भारतमा ईभी बिक्री ७६ प्रतिशतले वृद्धि हुँदा कुल कार बिक्रीमा यसको हिस्सा ९ प्रतिशत पुगेको छ । त्यस्तै, जापानमा ईभी बिक्री ८० प्रतिशतले बढेर बजार हिस्सा ५ प्रतिशत पुगेको छ । ब्राजिलमा भने ईभी बिक्री १६४ प्रतिशतले बढ्दै बजार हिस्सा १३ प्रतिशत पुगेको छ ।

अर्कोतर्फ, विश्वकै ठूलो ईभी बजार चीनमा भने बिक्रीमा केही गिरावट देखिएको छ । सन् २०२६ को पहिलो नौ महिनामा चीनको ईभी बिक्री १३ प्रतिशतले घटेको छ । सेप्टेम्बर महिनामा मात्रै बिक्री १६ प्रतिशतले घटे पनि त्यहाँ कुल प्यासेन्जर कार बिक्रीमा ईभीको हिस्सा ६७ प्रतिशत पुगेको छ ।

चीनमा विद्युतीय कमर्सियल गाडीको प्रयोग पनि तीव्र रूपमा बढिरहेको छ । सन् २०२६ को सेप्टेम्बरमा चीनमा बिक्री भएका कुल ट्रकमध्ये ५५ प्रतिशत विद्युतीय थिए । अघिल्लो वर्षको सोही अवधिमा यस्तो हिस्सा २५ प्रतिशत मात्रै थियो ।

चीनमा सरकारी अनुदान तथा पुराना गाडी विस्थापन गरी नयाँ विद्युतीय ट्रक खरिद गर्ने योजनाले पनि यसको बिक्री बढाउन सहयोग गरेको छ । यद्यपि लामो दूरीको ढुवानीमा चार्जिङ पूर्वाधार र सामान बोक्ने क्षमता तथा रेन्जबीचको सन्तुलन चुनौतीका रूपमा रहेको छ ।

समग्रमा विश्वका विभिन्न बजारमा ईभीको पहुँच विस्तार भइरहेको छ। विशेषगरी युरोप र उदीयमान अर्थतन्त्रमा देखिएको वृद्धिले आगामी दिनमा विश्व अटोमोबाइल बजारको विद्युतीकरण अझ तीव्र हुने संकेत गरेको छ ।

नेपालमा पनि विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेको छ । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा आयात तथा बिक्री भएका कुल चारपाङ्ग्रे सवारीसाधनमध्ये ८०.३० प्रतिशत ईभी थिए । उक्त अवधिमा १४ हजार ७७३ वटा चारपांग्रे सवारीसाधन आयात हुँदा ११ हजार ८६३ युनिट ईभी थिए ।

पेट्रोलियम पदार्थको बढ्दो मूल्य, कम सञ्चालन खर्च, विद्युतीय सवारीसाधनको बढ्दो उपलब्धता र चार्जिङ पूर्वाधार विस्तारले नेपालको अटो बजारमा ईभीको आकर्षण बढाएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *