अडीका गाडीको मूल्य २ प्रतिशतसम्म बढ्ने, जनवरी १ देखि नयाँ मूल्य लागू

जर्मन लक्जरी कार निर्माता कम्पनी अडीले भारतीय बजारमा बिक्री गर्दै आएका आफ्ना गाडीको मूल्य बढाउने भएको छ । कम्पनीले आगामी सन् २०२७ जनवरी १ देखि लागू हुने गरी सबै मोडलको एक्स–शोरुम मूल्यमा अधिकतम २ प्रतिशतसम्म वृद्धि गर्ने घोषणा गरेको हो ।

उत्पादन लागतमा निरन्तर भइरहेको वृद्धिलाई मूल्य समायोजनको मुख्य कारण बताउँदै कम्पनीले यस्तो निर्णय गरेको जनाएको छ । कच्चा पदार्थ तथा अन्य उत्पादन सामग्रीको मूल्य बढ्दै जाँदा त्यसको प्रभाव कम्पनीको सञ्चालन लागतमा परेको अडीले उल्लेख गरेको छ ।

अडी इन्डियाका ब्रान्ड निर्देशक बलबिर सिंह ढिल्लनले बढ्दो उत्पादन लागतलाई ध्यानमा राख्दै मूल्यमा अधिकतम २ प्रतिशतसम्म वृद्धि गर्न लागिएको बताए । उनका अनुसार व्यवसायको दीर्घकालीन दिगोपन कायम राख्न मूल्य समायोजन आवश्यक भएको हो ।

यद्यपि कम्पनीले मूल्यवृद्धिबाट ग्राहकमा पर्ने आर्थिक भार कम होस् भन्ने उद्देश्यले वृद्धि दरलाई सीमित राख्ने प्रयास गरेको जनाएको छ । ग्राहकलाई ब्रान्डप्रतिको विश्वास अझ बलियो बनाउने र उत्कृष्ट सवारी स्वामित्व अनुभव प्रदान गर्ने आफ्नो प्राथमिकता यथावत् रहेको ढिल्लनले बताए ।

नयाँ मूल्यवृद्धि भारतमा उपलब्ध अडीका सम्पूर्ण गाडीको रेन्जमा लागू हुनेछ । सन् २०२७ जनवरी १ देखि नयाँ एक्स–शोरुम मूल्य कार्यान्वयनमा आउनेछ । कम्पनीले भने मोडलअनुसार कति मूल्य बढ्ने भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

यस मूल्य समायोजनले भारतीय बजारमा अडीका नयाँ गाडी खरिद गर्ने ग्राहकको बजेटमा प्रभाव पार्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *