काठमाडौँ । नयाँ भेरियन्टको मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ तोकिएको छ । यो मूल्य यसअघि बजारमा उपलब्ध ब्ल्याक भेरियन्टकै बराबर हो । नयाँ रङ थपिएसँगै एक्सएसआर १५५ नेपाली बजारमा खरानी–हरियो मेटालिक, कालो, नीलो, रातो र खरानी गरी पाँचवटा रङ विकल्पमा उपलब्ध भएको छ ।
कार्यक्रममा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल र जापानबीचको सात दशक लामो मित्रता तथा सहकार्यलाई स्मरण गर्दै यामाहालाई जापानी इन्जिनियरिङ र प्रविधिगत नवप्रवर्तनको प्रतिनिधिका रूपमा व्याख्या गरे । उनले नेपाली उपभोक्तालाई जापानी प्रविधि र गुणस्तरका मोटरसाइकल उपलब्ध गराउन कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताए ।
रेट्रो शैलीको डिजाइनमा आधुनिक प्रविधि समेटिएको एक्सएसआर १५५ मा भेरिएबल भल्भ एक्चुएसन (भीभीए) प्रविधियुक्त इन्जिन जडान गरिएको छ । यसमा डेल्टाबक्स फ्रेम, ६ स्पिड ट्रान्समिसन र ट्र्याक्सन कन्ट्रोल सिस्टमसमेत उपलब्ध छन् । यी प्रविधिले मोटरसाइकलको शक्ति वितरण, सडकमा स्थिरता र सुरक्षित नियन्त्रणमा सहयोग पुर्याउँछन् ।
नेपालमा यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्सले बिक्री तथा बिक्रीपछिको सेवालाई देशभर विस्तार गरेको छ । कम्पनीले देशका विभिन्न स्थानमा रहेका १०५ आउटलेटमार्फत मोटरसाइकल बिक्री, मर्मतसम्भार तथा स्पेयर पार्ट्सको सुविधा प्रदान गर्दै आएको छ ।