काठमाडौं। नयाँ एसयूभीमा लिपमोटरले विकास गरेका प्रमुख प्राविधिक तथा विद्युतीय प्रणालीका कम्पोनेन्ट प्रयोग हुनेछन्। यद्यपि गाडीको डिजाइन र पहिचान भने ओपेलकै शैलीमा तयार पारिनेछ। यसको बाहिरी बनावट, भित्री क्याबिन, च्यासिस इन्जिनियरिङ, प्रकाश प्रणाली तथा सिट प्रविधिमा ओपेलको आफ्नै डिजाइन र प्राविधिक विशेषता समावेश गरिने कम्पनीले जनाएको छ।
परियोजनाको कामलाई तीव्रता दिन दुवै कम्पनीका प्राविधिक टोली परिचालित छन्। उनीहरूले चीनको हाङझाउ र जर्मनीको रसेल्सहाइममा रहेका संयुक्त परियोजना केन्द्रबाट नयाँ एसयूभीको विकास कार्य अघि बढाइरहेका छन्।
यो सहकार्य स्टेलान्टिस र लिपमोटरबीचको रणनीतिक साझेदारीको महत्वपूर्ण परियोजना मानिएको छ। स्टेलान्टिससँग लिपमोटरको करिब १९.९९ प्रतिशत सेयर स्वामित्व रहेको छ। यस साझेदारीमार्फत दुवै कम्पनीले विद्युतीय सवारीको प्रविधि, विकास र उत्पादन क्षमतालाई एकीकृत गर्ने प्रयास गरेका छन्।
लिपमोटरका लागि यो परियोजना चीनबाहिर आफ्नो व्यवसाय विस्तार गर्ने महत्वपूर्ण अवसरसमेत हुनेछ। ओपेलसँगको सहकार्यले युरोपेली बजारमा आफ्नो प्रविधि र उत्पादनको पहुँच बढाउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।