राइड सेयरिङ कम्पनीलाई भाडादरसहितका विवरण बुझाउन सात दिनको समय

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राइड सेयरिङ सेवा सञ्चालन गर्दै आएका कम्पनीलाई भाडा निर्धारण प्रणालीसहित सेवासम्बन्धी सम्पूर्ण विवरण सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ। राइड सेयरिङका नाममा आफूखुसी भाडा असुल्ने र यात्रुबाट अस्वाभाविक शुल्क लिने प्रवृत्तिबारे गुनासो बढेपछि मन्त्रालयले नियमन प्रक्रिया अघि बढाएको हो।

मन्त्रालयले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्राचार गर्दै सम्बन्धित कम्पनीसँग आवश्यक विवरण माग गर्न निर्देशन दिएको छ। कम्पनीहरूले भाडा कसरी निर्धारण गर्छन्, सेवा शुल्क र कमिसनको दर कति छ, सर्ज प्राइसिङ कसरी लागू हुन्छ तथा उपभोक्ताका गुनासा सम्बोधन गर्न कस्तो व्यवस्था गरिएको छ भन्ने विवरण पेस गर्नुपर्नेछ।

मन्त्रालयले यात्रुले यात्रा सुरु गर्नुअघि नै तिर्नुपर्ने कुल भाडा र अन्य अतिरिक्त शुल्कबारे स्पष्ट जानकारी पाउने व्यवस्था मिलाउन पनि भनेको छ। यसबाट यात्रा पूरा भएपछि अप्रत्याशित रूपमा बढी रकम तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ।

त्यसैगरी, यातायात व्यवस्था विभाग र सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी राइड सेयरिङ सेवाको भाडा निर्धारण, सञ्चालन र नियमनसम्बन्धी जिम्मेवारी स्पष्ट पार्न निर्देशन दिइएको छ। यस विषयमा अधिकार र कार्यक्षेत्र खुल्ने गरी प्रस्ताव तयार पारेर पेस गर्न मन्त्रालयले विभागलाई भनेको छ।

विभागलाई राइड सेयरिङमा अस्वाभाविक रूपमा बढाइने भाडाको अनुगमन तथा अध्ययन गर्नसमेत निर्देशन दिइएको छ। उपभोक्तामाथि अनुचित आर्थिक भार पार्ने वा शोषण गर्ने कार्य भएको पाइएमा प्रचलित कानुनअनुसार अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन मन्त्रालयले भनेको छ।

उपभोक्ताका गुनासा दर्ता गर्ने र तिनको सुनुवाइ तथा समाधान गर्ने विशेष संयन्त्र निर्माण गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ। यसका लागि १५ दिनभित्र प्रारम्भिक प्रतिवेदन र ३० दिनभित्र कार्यान्वयन गर्न सकिने सुधार योजनासहितको प्रतिवेदन पेस गर्न विभागलाई समयसीमा तोकिएको छ।

राइड सेयरिङ कम्पनीहरूले माग र आपूर्तिको अवस्थालगायतका आधार देखाउँदै आफूखुसी भाडा बढाउने गरेको भन्दै यात्रुबाट निरन्तर गुनासो आउन थालेपछि उद्योगमन्त्री दीपककुमार साहले अनुचित भाडा असुली नियन्त्रणका लागि आवश्यक कदम चाल्न विभागलाई निर्देशन दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *