– गोविन्द भट्टराई, कार्यकारी निर्देशक – नेपाल अटोमोबाइल एसोसिएसन (NASA)
नेपालमा सडक दुर्घटनामा परी वर्षमा करिब २७०० मानिसको ज्यान जान्छ।
त्यसको अर्थ दैनिक कम्तीमा ७ जनाले सडकमा ज्यान गुमारहेका छन्। सडक दुर्घटनामा त्योभन्दा धेरै संख्यामा मानिसहरू घाइते वा अपांग हुन्छन्।

अन्य सवारीसाधनको तुलनामा दुईपांग्रे दुर्घटनाको जोखिम अझै बढी हुन्छ।
सडक सुरक्षाबारेका जानकारहरूले ट्राफिक प्रहरीको पछिल्लो कदमको स्वागत गरे पनि मोटरसाइकल चालक र अन्य सडक प्रयोगकर्ताको जीवन बचाउन अझै धेरै काम गर्न आवश्यक रहेकोमा जोड दिएका छन्।

‘ध्वनि प्रदूषण नियन्त्रण गर्ने पछिल्लो अभियान स्वागतयोग्य छ।
तर सडक सुरक्षा अवस्था सुधार्न यो मात्रै पर्याप्त छैन,’ मोटर स्पोर्ट्स र सडक सुरक्षाको क्षेत्रमा काम गरिरहेको संस्था नेपाल अटोमोबाइल एसोसिएसनका कार्यकारी निर्देशक गोविन्द भट्टराईले भने।

‘कानुनमा मोटरसाइकलमा पछाडि बस्ने यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था गरिएको छ।
खोइ कार्यान्वयन भएको? अनि दुईपांग्रे सवारीसाधनलाई सार्वजनिक यातायातको रूपमा यात्रु ओसार्ने अनुमति दिएको हाम्रो सार्वजनिक यातायात क्षेत्र कसरी सुरक्षित होला,’ उनले थपे।
चर्को हर्न बजाउने र स्वरूप बिगारेर चर्को आवाज निकाल्दै गाडी दौडाउने चालकलाई निरूत्साहित र दण्डित तुल्याउने पछिल्लो अभियानले सहरबजारको चर्को होहल्लामा बाँच्न बाध्य मानिससँगै अन्य जीवजन्तुको संरक्षणमा पनि फाइदा पुग्ने भने देखिन्छ, संरक्षणकर्मी त्यसमा सहमत छन्।

‘त्यस्तो गोली चलेको जस्तो आवाज निकाल्ने मोटरसाइकल स्कुटरले त वन्यजन्तु मात्रै होइन, हामी मानिस आफै पनि त्रसित हुने गरेका छौँ,’ शिवपुरीबाट चितवन निकुञ्ज सरूवा भएका वार्डेन दिलबहादुर पुनले भने, ‘त्यस्ता साधन निषेध गर्दा मानिसको स्वास्थ्यलाई पनि राम्रो हुन्छ।
