घरजग्गा तथा निर्माण व्यवसायलाई चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने लक्ष्यसहित चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ ।
नारायणी जग्गा तथा आवास व्यवसायी सङ्घ, भी ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा यही मङ्सिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग सङ्घको एक्स्पो सेन्टरमा सञ्चालन हुन लागेको हो ।
एक्स्पोका बारेमा जानकारी दिन आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष बाबुराम अधिकारीले एक्स्पोले सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई नयाँ गति दिने विश्वास व्यक्त गरे ।
घरजग्गा कारोबारमा आएको मन्दी, लगानीको अभाव र युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेका बेला स्वदेशमै लगानी तथा उद्यमशीलताको वातावरण निर्माण गर्नु एक्स्पोको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ ।