टाटा मोटर्सको नयाँ इलेक्ट्रिक एसयूभी टाटा सिएरा ईभीले भारत एनक्यापको क्र्यास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ।
सो एसयूभीले एडल्ट अक्युपेन्ट प्रोटेक्शन र चाइल्ड अक्युपेन्ट प्रोटेक्शन दुवै परीक्षणमा ५ स्टार रेटिङ हासिल गरेको हो।
भारत एनक्यापको परीक्षणमा टाटा सिएरा ईभीले एडल्ट अकुपेन्ट प्रोटेक्सन तर्फ ३२ पूर्णाङ्कमध्ये ३०.६२ अंक प्राप्त गरेको छ। त्यस्तै, चाइल्ड अकुपेन्ट प्रोटेक्सन तर्फ ४९ पूर्णाङ्कमध्ये ४५ अंक हासिल गरेको छ।
क्र्यास टेस्टका लागि कम्पनीको टप भेरियन्ट इम्पावर्ड ए ७५ किलोवाट आवर क्यूडब्लूडी प्रयोग गरिएको थियो। सो सुरक्षा रेटिङ सिएरा ईभीका सबै भेरियन्टमा लागू हुनेछ।
एडल्ट अकुपेन्ट प्रोटेक्सनतर्फ सिएरा ईभीले फ्रन्टल अफसेट डिफर्मेबल बेरियर टेस्टमा १६ मध्ये १४.६२ अंक प्राप्त गरेको छ भने साइड मुभेबल डिफर्मेबल बेरियर टेस्टमा १६ पूर्णाङ्कमा १६ अंक नै हासिल गरेको छ।
साइड पोल इम्प्याक्ट परीक्षणमा भने एसयूभीले ओके रेटिङ पाएको छ।
चाइल्ड अकुपेन्ट प्रोटेक्सन डायनामिक टेस्टमा पूर्ण २४ अंक र चाइल्ड रेस्ट्रेन्ट सिस्टम इन्स्टलेसन टेस्टमा पूर्ण १२ अंक प्राप्त गरेको छ। यद्यपि, भेहिकल असेसमेन्टमा १३ मध्ये ९ अंक मात्रै प्राप्त गरेपछि कुल चार अंक घटेको हो।
परीक्षणका क्रममा १८ महिना र तीन वर्ष उमेर समूहका बालबालिकाको प्रतिनिधित्व गर्ने डमीलाई रियर फेसिङ चाइल्ड सिटमा राखेर फ्रन्ट र साइड क्र्यास परीक्षण गरिएको थियो।
दुवै परीक्षणमा सिएरा ईभीले पूर्ण अंक प्राप्त गरेको छ।
टाटा सिएरा ईभीका साथै मारुती सुजुकी ई-भिटारा, महिन्द्रा बीई ६ र भिनफास्ट भीएफ ६ इलेक्ट्रिक एसयूभीले पनि ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ ।
यद्यपि अंकका आधारसँग तुलना गर्दा एडल्ट र चाइल्ड प्रोटेक्सन दुवैमा सिएरा ईभीको स्कोर मारुती सुजुकी ई-भिटारा र महिन्द्रा बीई ६ भन्दा केही कम रहेको छ।
यसैगरी, पेट्रोल र डिजेल इन्जिन सिएरा र इलेक्ट्रिक संस्करणबीच तुलना गर्दा एडल्ट प्रोटेक्सनमा ईभीको स्कोर केही कम छ।
सेफ्टीका लागि टाटा सिएरा ईभीमा ६ वटा एयरब्याग, चारवटै पाङ्ग्रामा डिस्क ब्रेक, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, ईबीडीसहितको एबीएस, ट्र्याक्सन कन्ट्रोल सिस्टम, हिल होल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टम समावेश छ।
साथै चाइल्ड सेफ्टीका लागि आईएसओफिक्स चाइल्ड सिट माउन्ट, अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, रियर भ्यु क्यामेरा र सबै सिटमा एड्जस्टेबल हेडरेस्ट उपलब्ध छ ।