चेरी एरिजो ७ को उत्पादन सुरु

चिनियाँ अटोमोबाइल निर्माता चेरीले आफ्नो नयाँ हाइब्रिड सेडान एरिजो ७ को उत्पादन सुरु गरेको छ। अप्रिल २०२६ मा आयोजित बेइजिङ अटो शोमा सार्वजनिक गरिएको एरिजो एस कन्सेप्टमा आधारित सो नयाँ सेडान स्पोर्टी डिजाइन र आधुनिक प्रविधि समावेश गरिएको छ । रिपोर्टका अनुसार एरिजो ७ पेट्रोल र प्लग इन हाइब्रिड गरी २ पावरट्रेन विकल्पमा उपलब्ध हुनेछ।

एरिजो एस कन्सेप्टमा २.० लिटर टर्बो पेट्रोल इन्जिन प्रयोग गरिएको थियो, जसले २५७ एचपी पावर र ४०० एनएम टर्क उत्पादन गर्छ ।  तर, एरिजो ७ मा भने १.५ लिटर इन्जिन प्रयोग गरिएको छ। यसको पेट्रोल भेरियन्टमा टर्बोचार्ज्ड इन्जिन दिइएको छ, जसले १५६ एचपी पावर र २३५ एनएम टर्क उत्पादन गर्छ।

सो इन्जिन ड्युअल क्लच ट्रान्समिसनसँग जोडिएको छ। यसमा अर्को १.५ लिटर सी डीएम प्लग–इन हाइब्रिड पावरट्रेन पनि समावेश छ । यसमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन, इलेक्ट्रिक मोटर र हाइब्रिड ट्रान्समिसन समावेश गरिएको छ।

एरिजो ७ सी डीएमको सबैभन्दा आकर्षक पक्ष यसको ड्राइभिङ रेन्ज हो। यसमा १९.५२७ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ। सो गाडीको इलेक्ट्रिक मोडमा ११६ किलोमिटरसम्म रेन्ज दिन्छ ।

फुल पेट्रोल ट्याङ्की र फुल ब्याट्री चार्जमा यसले १७०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। रिपोर्टका अनुसार यसको फ्युल कंजप्शन प्रति १०० किलोमिटर ०.६९ लिटर रहेको छ। सो दुबै भेरियन्टको टप स्पिड १८० किलोमिटर प्रतिघण्टा हुनेछ।

यसको फ्रन्टमा ठूलो हेक्सागोनल फ्रन्ट ग्रिल, आकर्षक एङ्गुलर एलईडी हेडलाइट र स्पोर्टी बडी डिजाइन दिइएको छ। यसको रियरमा इन्टिग्रेटेड स्पोइलरका साथमा स्लोपिङ फास्टब्याक रूफलाइन प्रयोग गरिएको छ।

एरिजो ७ को लम्बाइ ४७३९ एमएम, चौडाइ १८५० एमएम र ह्विलबेस २७७० एमएम रहेको छ। यसको पेट्रोल भेरियन्टको तौल १३५० किलोग्राम छ भने हाइब्रिड भेरियन्टको तौल १५९८ किलोग्राम रहेको छ। हाइब्रिड मोडलमा ब्याट्री र इलेक्ट्रिक मोटर थपिएकाले यसको तौल पेट्रोल भेरियन्टको तुलनामा बढी भएको हो।

गाडीको इन्टेरियरमा ठूलो सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रिन, छुट्टै डिजिटल ड्राइभर डिस्प्ले, स्टेयरिङ कलममा जडान गरिएको गियर सेलेक्टर र फिजिकल क्लाइमेट कन्ट्रोल बटन उपलब्ध छ। साथै ब्रेकिङ र स्टेबिलिटी कन्ट्रोलका लागि बोश र सांघाई लाइकेका सिस्टम प्रयोग गरिएको छ।

चेरीले एरिजो ७ लाई सन् २०२६ को चौथो त्रैमासिकमा लन्च गर्ने तयारी गरिएको छ । चीनमा लन्चिङ पछि एरिजो ७ अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरी ७० भन्दा बढी देशमा निर्यात गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *