युरोपभर फ्ल्यास चार्जर विस्तार गर्ने योजना ल्याउदैं बीवाईडी

बीवाइडीले युरोपभर फ्ल्यास चार्जर जडान गर्ने योजना अघि बढाएको छ । कम्पनीले सन् २०२६ को अन्त्यसम्ममा एक सयवटा र २०२७ को अन्त्यसम्ममा ३ हजार वटा फ्ल्यास चार्जरहरू जडान गर्ने लक्ष्य राखेको हो । पेरिस अटो शोमा कम्पनीका अधिकारीहरूले यसवारे जानकारी दिएका हुन् ।

बीवाइडीका यी फ्ल्यास चार्जरहरूले १५ सय किलोवाटसम्मको सिंगल गन डिसी पावर उपलब्ध गराउँने बताइएको छ । यस प्रविधिको सहयोगमा दोस्रो पुस्ताको ब्लेड ब्याट्री भएका सवारी साधनहरूलाई ५ मिनेटमै १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

त्यस्तै १० देखि ९७ प्रतिशतसम्म चार्ज हुन ९ मिनेट लाग्छ । हाल कम्पनीले चीनभर १२ हजारभन्दा बढी फ्ल्यास चार्जरहरू सञ्चालन गरिरहेको छ र सन् २०२६ को अन्त्यसम्ममा विश्वव्यापी रूपमा २० हजार चार्जिङ स्टेसनहरू जडान गर्ने योजना बनाएको छ ।

बीवाइडीले यसअघि नै जुन महिनामा जर्मनीमा आफ्नो पहिलो चार्जर जडान गरिसकेको छ भने बेलायत लगायतका अन्य युरोपेली देशहरूमा पनि यी चार्जरहरू रहेका छन् ।

हाल युरोपमा फ्ल्यास चार्जिङ क्षमता भएको बीवाइडी निर्मित एक्लो कार डेन्जा जेड९ जिटी स्टेसन वागन हो, तर आगामी दिनमा यो प्रविधि भएका थप गाडीहरू बजारमा आउने अपेक्षा गरिएको छ ।

यसै क्रममा कम्पनीले सन् २०२७ को पहिलो त्रैमासिकमा युरोपेली बजारमा इलेक्ट्रिक एसयूभी एट्टो८ सार्वजनिक गर्ने तयारी गरेको छ । यो सात सिटे गाडी उक्त क्षेत्रमा बीवाइडीको लोगो सहित आउने पहिलो फ्ल्यास चार्जिङ मोडल बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *