नेपालमा अब इलेक्ट्रिक ट्रयाक्टर र डम्प ट्रक

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप अर्थात् स्याकम्यानसँगको सहकार्यमा एक्स५०००ई ६×४ इलेक्ट्रिक प्राइम मुभर र एक्स५०००ई ६×४ इलेक्ट्रिक टिपर नेपालमा सार्वजनिक गरेको छ । यी दुई मोडलमार्फत स्याकम्यानले नेपालको विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन बजारमा प्रवेश गरेको हो ।

कम्पनीले एक्स५०००ई ६×४ इलेक्ट्रिक प्राइम मुभरको मूल्य २ करोड ५ लाख रुपैयाँ तोकेको छ । निर्माण, खानी तथा अफरोड प्रयोगका लागि तयार गरिएको एक्स५०००ई ६×४ इलेक्ट्रिक टिपरको मूल्य भने २ करोड ३५ लाख रुपैयाँ राखिएको छ ।

भारी सामान ढुवानी तथा लामो दूरीको व्यावसायिक यातायातलाई ध्यानमा राखेर एक्स५०००ई इलेक्ट्रिक प्राइम मुभर तयार गरिएको कम्पनीले जनाएको छ । एक्स५०००ई इलेक्ट्रिक टिपरलाई निर्माण, खानी तथा अन्य चुनौतीपूर्ण अफरोड सञ्चालनका लागि डिजाइन गरिएको छ ।

दुवै मोडलमा इलेक्ट्रिक पावरट्रेन र ६×४ ड्राइभट्रेन उपलब्ध छन् । यी ट्रकमा फास्ट चार्जिङ, रिजेनेरेटिभ ब्रेकिङ र इन्टेलिजेन्ट ब्याट्री म्यानेजमेन्ट सिस्टमसमेत राखिएको छ । कम्पनीका अनुसार यी प्रविधिले चुनौतीपूर्ण व्यावसायिक अवस्थामा ट्रकलाई प्रभावकारी र भरपर्दो रूपमा सञ्चालन गर्न सहयोग पुर्‍याउनेछन् ।

स्याकम्यान एक्स५०००ईमा चालकको आराम र सञ्चालन सहज बनाउन एयर–सस्पेन्डेड सिट, मल्टिफङ्सन स्टेयरिङ, एयर कन्डिसनिङ र ठूलो इन्स्ट्रुमेन्ट डिस्प्ले दिइएको छ । दुवै मोडलमा हेभी–ड्युटी व्यावसायिक सञ्चालनका लागि आवश्यक विभिन्न सुरक्षा तथा नियन्त्रण प्रणालीसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *