काठमाडौं । निरन्तरको वर्षासँगै पहिरो खस्दा काठमाडौं आवतजावत गर्ने प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। बिहीबार दिउँसैदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथमा यातायात प्रभावित भएको हो।
बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ को गिम्दीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान करिब ४ः३० बजे पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात रोकिएको हो ।
जल तथा मौसम विभागको वर्षासम्बन्धी प्रक्षेपणलाई मध्यनजर गर्दै बिहीबारदेखि नै बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिएको थियो। जिल्ला प्रशासन कार्यालयले बाढीपहिरोको अवस्था हेरी आवश्यक परे दिउँसोसमेत सडक बन्द गर्न सकिने जनाएको छ। हाललाई आइतबारसम्म रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
यस्तै, धादिङको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरसहित सात स्थानमा पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काका अनुसार कृष्णभिरसहित विभिन्न स्थानमा ढुंगासहितको पहिरो खसेको हो।
बिहीबार साँझदेखि रातभर सवारी आवागमन रोकिएको पृथ्वी राजमार्ग शुक्रबार बिहान ५ बजेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको थियो। तर, निरन्तर वर्षाका कारण पहिरो पन्छाउन कठिन भएपछि राजमार्ग अनिश्चितकालका लागि बन्द गरिएको एसपी खड्काले जानकारी दिए।
उनका अनुसार पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि निरन्तरको वर्षाका कारण काम प्रभावित भएको छ।
यसैगरी, नारायणगढ–मुग्लिन सडकखण्ड पनि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान ७ः१५ बजे सूचना जारी गर्दै सडकखण्ड बन्द गरिएको जनाएको हो।
चितवन र आसपासका क्षेत्रमा बिहीबारदेखि निरन्तर वर्षा भइरहेको र विभिन्न स्थानमा पहिरो जाने क्रम जारी रहेकाले सडक बन्द गरिएको प्रशासनले जनाएको छ। पहिरो हटाउने कार्य जारी रहे पनि जोखिम कायमै रहेकाले अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालन नगर्ने निर्णय गरिएको हो।
यसअघि भदौ १४ गते त्रिशूली नदीको कटानका कारण कृष्णभिर क्षेत्रमा सडक भासिएपछि करिब दुई साता लगाएर डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको थियो। अहिले सोही डाइभर्सनसहित विभिन्न स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ।
पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथसमेत पहिरोका कारण बन्द भएपछि काठमाडौं आउने–जाने सडक आवागमनमा व्यापक असर परेको छ।