नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज चेतक ३५०१ इलेक्ट्रिक स्कुटरको मूल्य फेरि बढाएको छ । यसपटक एकैपटक २५ हजार रुपैयाँ मूल्य बढेर अब यसको मूल्य ३ लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको छ ।
बजाज चेतक स्कुटर गत वर्ष नेपाल भित्रिएको थियो । २०८२ साउनमा लन्च गर्दा यसको मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ थियो । त्यसपछि गत जेठमा २५ हजार र साउनमा १५ हजार मूल्य बढाइएको थियो ।
यसमा ३.५ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले सिंगल चार्जमा १५३ किलोमिटरको रेन्ज दिन्छ । यसबाट नेपालका सहरी तथा सहरोन्मुख सबै स्थानका लागि यो स्कुटर उपयुक्त हुने कम्पनीको भनाइ छ । त्यसैगरी यसलाई फास्ट चार्जिङ टेक्नोलोजीमार्फत शून्य देखि ८० प्रतिशत सम्म ३ घण्टामै चार्ज गर्न सकिन्छ ।
बजाज चेतक ३५०१ इलेक्ट्रिक स्कुटरमा भएको फुल–मेटल बडी र आईपी ६७ रेटेड वाटर रेजिस्टेन्सका कारण नेपालको विविध मौसमका लागि उपयुक्त छ । यसमा भएको अल–न्यु फ्लोरबोर्ड ब्याट्री डिजाइनका कारण यो सेगमेन्टमै सबैभन्दा ठूलो ३५ लिटरको अन्डर सिट स्टोरेज यसमा रहेको छ । यसका कारण स्पेस र कम्फर्ट दुवै दृष्टिकोणले सहज भएको छ ।