भोटेकोशी बाढीले रसुवागढीमा ठूलो क्षति, सवारीसाधनमै करिब १३ अर्ब डुब्यो

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले चीनसँगको नेपालको प्रमुख व्यापारिक नाका रसुवागढीमा ठूलो आर्थिक क्षति पुर्‍याएको छ। बाढीको प्रभाव भन्सार पूर्वाधारसँगै सडकमा गुडिरहेका, पार्किङमा राखिएका तथा सामान बोकेर रहेका सवारीसाधनमा समेत परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले रसुवागढी भन्सार र आसपासको यातायात क्षेत्रमा मात्रै करिब १३ अर्ब रुपैयाँ बराबरको क्षति भएको देखाएको छ।

प्रतिवेदनअनुसार गोसाइँकुण्ड गाउँपालिकामा रहेको रसुवागढी नाकाका दुई मुख्य भन्सार भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। भवनसँगै त्यहाँ रहेका उपकरण र कार्यालयका सामग्रीसमेत क्षतिग्रस्त हुँदा भन्सारतर्फ मात्रै ९३ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको आकलन गरिएको छ।

बाढीले गल्छी–बेत्रावती–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा पनि ठूलो विनाश गरेको छ। सडकमा गुडिरहेका, विभिन्न स्थानमा रोकिएका तथा चीनबाट सामान ल्याउँदै गरेका सवारीसाधनहरू बाढी र गेग्रानको चपेटामा परेका छन्।

बाढीको भेल र गेग्रानमा परेर बगेका, पुरिएका तथा क्षति भएका सवारीसाधन र यातायातसँग सम्बन्धित सम्पत्तिको प्रत्यक्ष क्षति मात्रै १२ अर्ब ९० करोड २५ लाख रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ। यो रकम करिब ८ करोड ५० लाख अमेरिकी डलर बराबर हो।

सडक सम्पर्क टुटेपछि यातायात सञ्चालन प्रभावित हुँदा व्यवसायीले थप आर्थिक क्षति व्यहोर्नुपरेको छ। ढुवानी तथा यातायात व्यवसायमा मात्रै ३१ करोड ४५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रतिवेदनको निष्कर्ष छ। यसबाट सामान ढुवानी, कन्टेनर तथा सार्वजनिक यातायात सञ्चालन गर्ने कम्तीमा ८७ वटा यातायात व्यवसाय/प्रतिष्ठान प्रत्यक्ष प्रभावित भएका छन्।

समग्र व्यावसायिक क्षेत्रको भौतिक क्षति हेर्दा सवारीसाधन तथा यातायातसम्बन्धी सम्पत्तिको हिस्सा सबैभन्दा ठूलोमध्ये एक रहेको छ। होटल व्यवसायसँगै यसको हिस्सा करिब ७३.६ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ।

चीनबाट आयात भएका विभिन्न सामग्री बोकेर आएका मालवाहक ट्रक र कन्टेनरहरू बाढीको लेदोमा पुरिनु तथा बग्नु नै यति ठूलो आर्थिक क्षतिको प्रमुख कारण बनेको प्रतिवेदनमा उल्लेख छ। ती सवारीसाधनमा विद्युतीय सामग्री, गाडी, तयारी पोसाक, जुत्ता–चप्पल, औद्योगिक उपकरण तथा मेसिनरी लगायतका सामान थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *