बीवाइडीले आफ्ना गाडीहरू विश्वव्यापी बजारमा निर्यात गर्नका लागि थप १० वटा विशाल कार वाहक पानीजहाजको अर्डर दिएको छ । नयाँ अर्डर गरिएका प्रत्येक पानीजहाजको क्षमता ९ हजार २०० वटा कार (सिईयु) बोक्नसक्ने रहेको बताइएको छ ।
यी नयाँ पानीजहाजहरूको निर्माण चाइना मर्चेन्ट्स इन्डस्ट्रिले आफ्ना जिनलिङ र हाइमेन शिपयार्डहरूमा गर्नेछ भने सन् २०२७ देखि २०२९ को बीचमा यी जहाजहरू बीवाइडीलाई हस्तान्तरण गरिनेछ ।
यसअघि बीवाइडीसँग ८ वटा पानीजहाज रहेकोमा नयाँ १० वटा थपिएपछि कम्पनीको कुल टोली १८ वटा जहाजको हुनेछ । यसबाट बीवाइडीको सवारी साधन ओसारपसार गर्ने कुल क्षमता १ लाख ३० हजार भन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
घरेलु बजारमा तीव्र प्रतिस्पर्धा र मूल्य युद्धका कारण नाफामा दबाब परेपछि बीवाइडीले अन्तर्राष्ट्रिय बजार विस्तारलाई तीव्र बनाएको छ । थपिएका नयाँ जहाजहरूले कम्पनीको वार्षिक निर्यात क्षमतालाई २५ लाख गाडीसम्म पु¥याउन सहयोग पु¥याउने जनाइएको छ ।
बीवाइडीले आफ्ना चीनमा बनेका गाडीहरू बाहेक थाइल्यान्ड लगायतका वैदेशिक प्लान्टमा उत्पादित सवारी साधनहरू पनि यिनै जहाजमार्फत युरोप र अन्य अन्तर्राष्ट्रिय बजारमा आपूर्ति गर्दै आएको छ ।