काठमाडौं । नुवाकोटको देवीघाटमा तादी नदीमाथि आवागमन सहज बनाउने उद्देश्यले नेपाली सेनाले निर्माण थालेको एक्रो ब्रिज तयार भएको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण त्यहाँ रहेको पक्की पुल बगेपछि तत्कालीन विकल्पका रूपमा सेनाले अस्थायी पुल निर्माण अघि बढाएको थियो ।
प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दीपा दाहालले पुल निर्माण पूरा भएको बताएकी छन् । उनले दिएको जानकारीअनुसार आजबाट सर्वसाधारण पैदल हिँड्न सक्नेछन् भने सवारीसाधनका लागि भने भोलिदेखि बाटो खुलाइनेछ ।
सेनाले आइतबार तादी नदीमा पुल जडान गर्न थालेको थियो । आवश्यक प्राविधिक कामलाई तीव्रता दिँदै ५ दिनमै संरचना तयार पारिएको हो । यसका लागि नेपाली सेनाका ५५ जना प्राविधिक परिचालन भएका थिए ।
तादीमा राखिएको पुल ६० मिटर लामो छ । यसको चौडाइ ५.५ मिटर रहेको छ भने निर्माण गरिएको संरचनाले ५० टनसम्मको भार वहन गर्न सक्ने बताइएको छ ।
पुल सञ्चालनमा आएपछि विगत दुई सातादेखि अवरुद्ध रहेको गल्छी–बिदुर सडकसँगको सम्पर्क पुनःस्थापित हुनेछ । सडक खुलेसँगै दैनिक आवतजावतमा निर्भर स्थानीय बासिन्दाका साथै व्यापार व्यवसायमा संलग्न व्यक्ति र यात्रुहरूलाई समेत ठूलो सहजता पुग्ने भएको छ ।