सरकारले भोटेकोशी नदीको बाढीबाट प्रभावित व्यवसायीहरूका लागि विशेष राहत दिने घोषणा गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले विशेष राहत दिने घोषणा गरेको हो । बाढीले क्षतिग्रस्त वा बगाएका सवारी साधनको पुनः आयातमा पूर्ण भन्सार महसुल छुट दिने निर्णय गरेको छ ।
भोटेकोशी र रसुवा क्षेत्रका व्यवसायीहरूलाई लक्षित गरी सवारी साधन र यन्त्र उपकरणमा विशेष सहुलियत दिने निर्णय गरेको हो ।मन्त्रिपरिषद्को निर्णय अनुसार बाढीका कारण मर्मत सम्भार हुन नसक्ने गरी क्षतिग्रस्त भएका वा बाढीले बगाएर हराएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानीका साधनको पहिले दर्ता खारेज गरिनेछ ।
त्यसरी दर्ता खारेज भएपछि व्यवसायीले सोही किसिमका नयाँ सवारी वा ढुवानीका साधन आयात गर्न चाहेमा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल पूर्ण रूपमा छुट दिइने भएको छ ।
सरकारको विशेष प्याकेजले बाढीमा करोडौँ मूल्यका कन्टेनर र गाडी गुमाएका व्यवसायीहरूलाई पुनः व्यवसायमा फर्कन ठूलो मद्दत पुग्ने देखिएको छ ।