टेस्लाको साइबरट्रकमा अमेरिकामै उत्पादित लिथियम

काठमाडौं । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले ब्याट्री उत्पादनमा आफ्नो निर्भरता घटाउँदै आफ्नै उत्पादन शृंखला विस्तार गर्न थालेको छ । कम्पनीले टेक्सासस्थित आफ्नै रिफाइनरीबाट उत्पादन गरेको लिथियम प्रयोग गरेर साइबरट्रकका लागि ब्याट्री सेल निर्माण थालेको हो ।

टेस्लाका अनुसार टेक्सासको लिथियम रिफाइनरीमा प्रशोधन गरिएको लिथियमलाई ४६८० ब्याट्री सेलमा प्रयोग गरिएको छ । यही सेल प्रयोग गरेर साइबरट्रक उत्पादन भइरहेको कम्पनीले जनाएको छ ।

साइबरट्रकको आधिकारिक एक्स अकाउन्टमा सेप्टेम्बर ४ मा कारखानाका तस्बिरसहित यसबारे जानकारी सार्वजनिक गरिएको थियो । उक्त पोस्ट टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले पनि ‘लिथियम मेड इन अमेरिका’ भन्दै सेयर गरेका थिए ।

टेक्सासको रोब्सटाउनस्थित टेस्लाको लिथियम रिफाइनरीमा ‘स्पोड्युमिन अयस्क’ प्रशोधन गरेर ब्याट्रीमा प्रयोग गर्न मिल्ने स्तरको लिथियम हाइड्रोक्साइड उत्पादन गरिन्छ । त्यसबाट प्राप्त लिथियम प्रयोग गरी अस्टिनस्थित गिगाफ्याक्ट्री टेक्सासमा ४६८० ब्याट्री सेल तयार गरिन्छ ।

यससँगै कच्चा पदार्थ प्रशोधनदेखि ब्याट्री सेल उत्पादन र अन्ततः विद्युतीय सवारी निर्माणसम्मका महत्वपूर्ण चरण टेस्लाको आफ्नै आपूर्ति शृंखलाभित्र समेटिन थालेका छन् । यसले ब्याट्री उत्पादनका लागि बाह्य आपूर्तिमाथिको कम्पनीको निर्भरता घटाउने अपेक्षा गरिएको छ ।

यद्यपि, आफ्नै रिफाइनरीबाट उत्पादित लिथियम प्रयोग गरी हालसम्म कति साइबरट्रक निर्माण भएका छन् भन्ने टेस्लाले खुलाएको छैन । साथै, यही ब्याट्री अन्य कुन मोडलमा प्रयोग हुने हो भन्नेबारे पनि कम्पनीले जानकारी दिएको छैन ।

सन् २०२३ बाट रिफाइनरी निर्माण

रोब्सटाउनमा रहेको लिथियम रिफाइनरीको निर्माण सन् २०२३ मा सुरु गरिएको थियो । टेस्लाले प्लान्टलाई सन् २०२६ को सुरुवातदेखि पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको जनाएको छ ।

कम्पनीका अनुसार यो उत्तर अमेरिकाकै पहिलो यस्तो प्लान्ट हो, जहाँ ‘स्पोड्युमिन अयस्क’बाट सिधै लिथियम हाइड्रोक्साइड उत्पादन गरिन्छ । टेस्लाले परम्परागत लिथियम प्रशोधन विधिमा प्रयोग हुने एसिड आफ्नो प्रक्रियामा प्रयोग नगर्ने भएकाले वातावरणीय प्रभाव कम हुने दाबी गरेको छ ।

गत जुलाईमा आयोजित ‘लिथियम डे’ कार्यक्रममा पनि टेस्लाले रोब्सटाउन प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आएको जानकारी दिएको थियो । सोही अवसरमा कम्पनीले ब्याट्री रिसाइक्लिङसम्बन्धी नयाँ पेटेन्ट पनि सार्वजनिक गरेको थियो ।

ब्याट्री आपूर्तिमा आत्मनिर्भर बन्ने रणनीति

टेस्लाले पछिल्लो समय ब्याट्रीका लागि आवश्यक कच्चा पदार्थदेखि सेल उत्पादनसम्म आफ्नै क्षमता विस्तार गरिरहेको छ । कम्पनीले एनोड र क्याथोड उत्पादनमा समेत लगानी बढाउँदै आएको छ ।

यसैगरी, टेस्लाले म्याक्सवेल टेक्नोलोजिजको प्रविधिबाट विकसित ‘ड्राइ इलेक्ट्रोड’ प्रक्रियालाई ब्याट्री उत्पादनमा प्रयोग गर्ने योजना बनाएको छ । यसबाट उत्पादन प्रक्रिया सरल हुनुका साथै ऊर्जा खपत घटाउने लक्ष्य कम्पनीको छ ।

टेस्लाका वित्त प्रमुख वैभव तनेजाले यसअघि विश्वव्यापी रूपमा ब्याट्री सेलको आपूर्ति कम्पनीका लागि प्रमुख चुनौतीमध्ये एक रहेको बताएका थिए । त्यसैले कच्चा पदार्थको उत्पादन, रिफाइनिङ र ब्याट्री सेल निर्माणमा आफ्नै क्षमता बढाउनु टेस्लाको दीर्घकालीन रणनीतिक प्राथमिकता बनेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *