भदौ १० गते भोटेकोशी नदीेमा आएको बाढीले क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण गर्न करिब ५० अर्ब रुपैयाँ लाग्ने जनाइएको छ ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न करिब ५० अर्ब रुपैयाँ हाराहारी खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।
उनले बाढीले गल्छी(बेत्रावती(रसुवागढी सडक, पृथ्वी राजमार्ग र ३१ वटा पुलमा ३० अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको बताए ।
नुवाकोटको विदुरदेखि रसुवागढीसम्मको ५६ किलोमिटरमध्ये ४० किलोमिटर सडक पूरै ‘वास आउट’ भएको उनले जानकारी गराए । त्यस्तै, पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीरमा नदीले कटान गर्दा सडकमा ठूलो क्षति पुगेको उनले बताए ।
बाढीले रसुवा, नुवाकोट र धादिङका ३१ वटा मोटरेबल पुलमा क्षति पुर्याएको उनले जानकारी दिए । ‘भोटेकोशी बाढीले विदुरदेखि रसुवागढीसम्मको ५६ किमी सकडमध्ये ४० किमी वास आउट गरेको छ । त्यस्तै, पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीरमा कटान गरेको छ,’ उनले भने, ‘रसुवा, नुवाकोट र धादिङका ३१ वटा पुलमा क्षति पुर्याएको छ । यी सबै पुनर्निर्माण गर्न ५० अर्ब लाग्ने परम्भिक अनुमान छ ।’
उनले सडक विभागले क्षतिग्रस्त सडक र पुल पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले अहिले बाढीग्रस्त क्षेत्रमा अहिले एक दर्जन भन्दा बढी उपकरण परिचालन गरी तत्काल सम्भव हुने स्थानमा सडक खुलाउने कामलाई तीव्रता दिइएको बताए । यसका लागि ३ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकिएको बताए ।
उनले बाढीले बगाएका ३१ पुलमध्ये तत्काल ३ स्थानमा बेलिब्रज जडान प्रक्रिया अघि बढाइएको जानकारी दिए । देवीघाट, त्रिशूली बजार र बेत्रावतीमा बेलिब्रिज जडान गर्न आवश्यक प्रक्रिया अघि बढाइसकिएको उनले बताए । साथै, क्षति पुगेको अन्य पुलको मर्मतका लागि प्राविधिक सर्वेक्षण भइरहेको उनको भनाइ छ ।