काठमाडौं । भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शो २०२६ मा सवारीसाधनसँगै नेपाली उत्पादनले पनि दर्शकको ध्यान खिचिरहेको छ। यही क्रममा ‘मेड इन नेपाल, मेड फर नेपाल’ प्याभिलियनमा राखिएका केपीआई ब्रान्डका हेल्मेट विशेष आकर्षण बनेका छन्।
रुपन्देहीको तिलोत्तमा–स्थित कोहिनुर प्लाष्टिक इन्डष्ट्रिजले उत्पादन गर्दै आएको केपीआई हेल्मेटलाई कम्पनीले नेपाली कला, संस्कृति, सम्पदा र प्राकृतिक सौन्दर्यसँग जोडेर प्रस्तुत गरेको छ। स्टलमा हेल्मेटसँगै कोहिनुर मेटल उद्योगले उत्पादन गर्ने लेगगार्डसमेत प्रदर्शन गरिएको छ।
केपीआईका केएच६ र केएच७ सिरिजमा नेपाली पहिचानलाई प्राथमिकता दिइएको छ। विशेषगरी ‘हेरिटेज एडिसन’मा नेपालका चर्चित सम्पदा तथा राष्ट्रिय पहिचानसँग जोडिएका विभिन्न दृश्य समेटिएका छन्।
हेल्मेटमा धरहरा, पशुपतिनाथ, स्वयम्भूनाथ, जानकी मन्दिर, पाटेबाघ, लालीगुराँस र कर्णाली पुललगायतका चित्र राखिएका छन्। यसले सामान्य सुरक्षा सामग्रीका रूपमा प्रयोग हुने हेल्मेटलाई नेपाली कला र पहिचानसँग जोडेको छ।
त्यस्तै, ‘मुस्ताङ एडिसन’मा हिमाली क्षेत्र मुस्ताङका प्राकृतिक दृश्यलाई हेल्मेटको डिजाइनमा उतारिएको छ। दुवै संस्करणमा ‘प्राउड्ली नेपाली’ लेखेर नेपाली उत्पादनप्रतिको गौरवलाई समेत प्राथमिकता दिइएको छ।
कम्पनीका अनुसार नेपालमै उत्पादन गरिएका यी हेल्मेट गुणस्तरका हिसाबले पनि प्रमाणित छन्। केपीआईका हेल्मेट आईएसओ, आईएसआई र डीओटी सर्टिफाइड रहेको कम्पनीले जनाएको छ।
केपीआईले हाफ, फुल र डर्ट हेल्मेट गरी विभिन्न प्रकारका उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ। नाडा अटो शो २०२६ लाई लक्षित गर्दै कम्पनीले आफ्ना हेल्मेटमा विशेष छुटसमेत घोषणा गरेको जनाएको छ।