सुक्खा पहिरोले थुनियो मुग्लिङ–काठमाडौं सडक, यात्रु बीच बाटोमै अलपत्र

काठमाडौँ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० अन्तर्गत पर्ने जवाङ खोला क्षेत्रमा बुधबार सुक्खा पहिरो झरेपछि मुग्लिङ–काठमाडौं सडकखण्डको आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।

पहिरोसँगै ठूलो परिमाणमा ढुंगा खसिरहेकाले सडक दुवैतर्फबाट बन्द भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएसँगै लामो तथा छोटो दूरीका सयौं यात्रुवाहक र मालवाहक सवारीसाधन सडकमै रोकिएका छन् भने यात्रुले गन्तव्य पुग्न कठिनाइ भोगिरहेका छन्।

सडक खुलाउन डोजर परिचालन गरिएको भए पनि माथिबाट लगातार ढुंगा झर्ने क्रम नरोकिएकाले पहिरो हटाउने काम प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन।

 

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले पहिरो हटाउने प्रयास जारी रहे पनि जोखिमका कारण काममा बाधा पुगेको जानकारी दिए। ढुंगा झर्ने क्रम रोकिएपछि मात्र सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ।

प्रहरीले उक्त सडकखण्ड प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक मार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *