काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–स्थित सिमखोलामा आएको बाढीले स्कुटरसहित बगाएर बेपत्ता भएका चालक चार दिनपछि मृत अवस्थामा फेला परेका छन्।
मृतक सर्लाहीको ढुङ्ग्रेबासका ३० वर्षीय महेश कार्की रहेको प्रहरीले जनाएको छ। बाढीले बगाएपछि उनी गत सोमबारदेखि बेपत्ता थिए।
खोलाको बहाव कम भएपछि बुधबार अपराह्नदेखि डोजर प्रयोग गरेर खोलाको बालुवा हटाउने क्रममा कज–वेबाट करिब २०० मिटर तल बालुवाले पुरिएको अवस्थामा कार्कीको शव फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ।
यसअघि मंगलबार बाढीले बगाएको बा.प्र. ०२–०३२ च ८०५४ नम्बरको स्कुटर र त्यसको ब्लुबुक सडकबाट करिब १०० मिटर तल खोलामा फेला परेको थियो। त्यसकै आधारमा बेपत्ता व्यक्तिको पहिचान खुलेको थियो।
कार्की काठमाडौंमा राइड सेयरिङ चालकको रूपमा कार्यरत थिए। उनी सोमबार काठमाडौंबाट घर फर्किने क्रममा कुलेखानी ड्याममुनि सिमखोलामा आएको आकस्मिक बाढीमा स्कुटरसहित बगेका थिए।