काठमाडौं । युवा फुटबल प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्यसहित आयोजित ‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न भएको छ। हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एजी१० एकेडेमीसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो।
ललितपुरको च्यासल मैदानमा आयोजित एकदिने यू–१६ फुटबल प्रतियोगितामा आठ टोलीका ८० युवा खेलाडीले प्रतिस्पर्धा गरेका थिए। रोमाञ्चक खेलपछि टिम भेन्युले उपाधि जित्दा टिम क्रेटा इलेक्ट्रिक उपविजेता बनेको छ।
प्रतियोगितामा टिम क्रेटा इलेक्ट्रिक, भेन्यु, आयोनिक, एक्स्टर, कोना, क्रेटा, ग्रान्ड आई१० निओस र प्यालिसेड सहभागी थिए।
फिफा विश्वकप २०२६ को आधिकारिक साझेदार हुन्डाईले आफ्नो विश्वव्यापी ब्रान्ड भिजन ‘नेक्स्ट स्टार्ट्स नाउ’ अनुरूप नेपालमा ग्रासरुट फुटबलको विकासमा योगदान पुर्याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको जनाएको छ।
कम्पनीका अनुसार प्रतियोगिताले युवा खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो प्रतिभा देखाउने, नयाँ सीप सिक्ने र आत्मविश्वास बढाउने अवसर प्रदान गरेको छ। एजी१० एकेडेमीसँगको सहकार्यले नेपाली फुटबलको आधारभूत तहको विकासमा दीर्घकालीन योगदान पुर्याउने उद्देश्यलाई थप बलियो बनाएको कम्पनीको भनाइ छ।
एजी१० एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले नेपालमा फुटबल प्रतिभाको कमी नरहेको बताए। यस्ता प्रतियोगिताले युवा खेलाडीलाई ठूलो सपना देख्न र त्यसलाई पूरा गर्ने आत्मविश्वास प्रदान गर्ने उनको भनाइ छ।
प्रतियोगिताको सफल समापनसँगै हुन्डाई नेपालले युवा विकास, समुदायसँगको सहकार्य र ग्रासरुट फुटबल प्रवर्द्धनका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।