स्विस रेल निर्माता स्ट्याडलर र इटालीको एआरएसटीले संयुक्त रूपमा विश्वकै पहिलो धुवाँरहित हाइड्रोजन रेल सार्वजनिक गरेका छन्। धुवाँ रहित सो रेलले केवल पानीको वाष्प मात्र बाहिर निकाल्ने र हानिकारक ग्यास उत्सर्जन नगर्ने उल्लेख गरिएको छ। सो रेल सन् २०२८ देखि इटालीको सार्डिनिया क्षेत्रमा यात्रु सेवाका लागि सञ्चालन गर्ने कम्पनीको योजना छ ।
सार्डिनियामा यस्ता १० वटा हाइड्रोजन रेल सञ्चालनमा आएपछि प्रत्येक वर्ष २ हजार १०० टनभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सकिने स्ट्याडलरको दावि छ । कम्पनीले यसलाई कारबाट करिब ४५० पटक पृथ्वीको परिक्रमा गर्दा हुने प्रदूषण बराबरको उत्सर्जन कटौती हुने उपलब्धिका रूपमा व्याख्या गरेको छ। रेलले धुवाँको सट्टा केवल पानीको वाष्प मात्र उत्सर्जन गर्ने भएकाले यसलाई पूर्ण रूपमा प्रदूषणरहित सार्वजनिक यातायातको रुपमा लिइएको छ।
सो रेल सञ्चालनका लागि आवश्यक हाइड्रोजन ग्यास पनि स्थानीय स्तरमै उत्पादन गरिने कम्पनीले बताएको छ। सार्डिनियामा शतप्रतिशत सौर्य ऊर्जाको प्रयोग गरी हरित हाइड्रोजन उत्पादन गर्ने योजना बनाइएको छ। रेलको बीच भागमा रहेको विशेष शक्ति प्याक डिब्बामा हाइड्रोजन ट्याङ्की र फ्युल सेल्स जडान गरिने पनि बताइएको छ। यस्तो सिस्टमले रेल सञ्चालनका क्रममा ब्याट्री निरन्तर चार्ज हुँदै जानेछ ।
यो रेल विशेष रूपमा सार्डिनियाको पहाडी भूगोल र साँघुरा रेलमार्गलाई ध्यानमा राखेर विकास गरिएको हो। त्यहाँका रेलमार्गमा धेरै तीखा घुम्ती, साँघुरा ट्र्याक र तौलसम्बन्धी कडा सीमाका कारण आधुनिक भारी विद्युतीय रेल सञ्चालन गर्न वा विद्युतीय तार जडान गर्न कठिन थियो। अब भने स्ट्याडलरले हलुका संरचना र विशेष प्रविधिमा आधारित हाइड्रोजन रेल विकास गरेपछि ती चुनौतीहरू समाधान हुने अपेक्षा गरिएको छ।
पुराना डिजेल रेलको तुलनामा यसमा आवाज र कम्पन अत्यन्त कम हुने भएकाले यात्रामा थप शान्त र आरामदायी महशुस हुनेछ। रेलमा ठुला पानोरामिक सिसाका झ्याल राखिनेछ, जसबाट यात्रुहरूले सार्डिनियाको प्राकृतिक सौन्दर्य सहज रूपमा अवलोकन गर्न सक्नेछन।
रेलको सम्पूर्ण क्याबिन एयर कन्डिशन हुनेछ भने वृद्धवृद्धा तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई सहज रूपमा चढ्न र ओर्लन मिल्ने गरी तल्लो भुइँ भएको डिजाइन अपनाइएको छ।
सम्झौताअनुसार सार्डिनियाले कुल १० वटा हाइड्रोजन रेल प्राप्त गर्नेछ। यससँगै स्ट्याडलरले इटालीको क्यालाब्रिया क्षेत्रका लागि नौ वटा र सिसिलीका लागि दुई वटा समान प्रविधिका रेल पनि निर्माण गरिरहेको छ। यात्रु सेवामा सञ्चालन हुनुअघि यी सबै रेलले इटालीको राष्ट्रिय रेल सुरक्षा एजेन्सीद्वारा गरिने कडा सुरक्षा परीक्षण सफलतापूर्वक पार गर्नुपर्नेछ। सबै रेल स्विट्जरल्यान्डस्थित स्ट्याडलरको मुख्य उत्पादन केन्द्रमा निर्माण गरिने कम्पनीले जनाइएको छ।