दोब्बरले बढ्यो इलेक्ट्रीक स्कुटर आयात; बढ्दैछ आकर्षण

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा इलेक्ट्रीक स्कुटर बजार गुलजार बनेको छ । बजारमा इलेक्ट्रीक स्कुटरको माग ह्वात्तै बढ्दा आयाता दोब्बरले बढेको हो ।

नेपाली बजारमा इलेक्ट्रीक स्कुटर उपलब्ध भएको वर्षौं बिते पनि उपभोक्ता खासै आकर्षित हुन सकेको थिएनन् । चारपाँग्रेको तुलनामा दुईपाँग्रे ईभीको बिक्री अति न्यून छ । ईभी कारको बजार हिस्सा ७० प्रतिशत पुग्दा दुईपाँग्रेको ५ प्रतिशतभन्दा कम छ ।

तर, चालु आवमा भने दुईपाँग्रे इलेक्ट्रीक सवारी (स्कुटर र मोटरसाइकल)को बिक्रीमा उछाल आएको छ । अझ पछिल्लो ४ महिना यता पेट्रोलको मूल्य ३५ प्रतिशतभन्दा धेरै बढेपछि उपभोक्ता इलेक्ट्रीक स्कुटरतर्फ मोडिन थालेका हुन् ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवमा दुईपाँग्रे ईभीको आयात दोब्बरभन्दा धेरैले बढेको छ । चालु आवको ११ महिना (साउन–जेठ)मा कुल २१ हजार ७२४ युनिट इलेक्ट्रीक दुईपाँग्रे (मोपेड बाहेक) भित्रिएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १०५.८९ प्रतिशत अर्थात् ११ हजार १७३ युनिट धेरै हो । गत आवको ११ महिनामा कुल १० हजार ५५१ युनिट इलेक्ट्रीक स्कुटर र मोटरसाइकल आयात भएको थियो ।

चालु आवमा आयात भएको दुईपाँग्रे ईभीको संख्या हालसम्म कुनै पनि आवमा भित्रिएको सबैभन्दा धेरै हो । यसअघि गत आव भरीमा सर्वाधिक ११ हजार ३२० युनिट दुईपाँग्रे ईभी आयात भएको थियो ।

संख्यात्मक रूपमा कम भए पनि इलेक्ट्रीक दुईपाँग्रेको आयात भने वर्षेनी बढ्दो क्रममा देखिएको छ । पछिल्लो ५ वर्षमै आयात ९ गुणाले बढेको छ । आव २०७७/७८ मा २ हजार २६५ युनिट आयात भएको चालु आवको ११ महिनामै पौने २२ हजार युनिट नाघेको हो । यो आवको अझै १ महिना बाँकी रहेकाले आयात २३ हजार युनिट नाघ्ने अनुमान गर्न सकिन्छ ।

अघिल्ला वर्षहरू आव २०८०/८१ मा ७ हजार ७४७ युनिट, आव २०७९/८० मा ७ हजार १५५ युनिट र आव २०७८/७९ मा ३ हजार ६१० युनिट इलेक्ट्रीक दुईपाँग्रे आयात भएको थियो ।

यसकारण बढ्दै छ आकर्षण 

इलेक्ट्रीक स्कुटरको माग बढ्नुको प्रमुख कारण हो पेट्रोलको मूल्य । गत फेब्रुअरी अन्तिमा अमेरिका र इजरायलले इरान माथि आक्रमण गरेपछि पेट्रोलको मूल्य लिटरमै ६० रुपैयाँ बढेर प्रतिलिटर २२० रुपैयाँ माथिसम्म पुगेको थियो । हाल २१७ रुपैयाँ छ । त्यसैले पेट्रोल स्कुटरको तुलानामा संचालन खर्च निकै कम हुँदा उपभोक्ताले इलेक्ट्रीक स्कुटर रोज्न थालेको देखिन्छ । अहिले महिना दिन पेट्रोल हाल्न खर्च हुने पैसाले झण्डै इलेक्ट्रीक स्कुटरको किस्ता तिर्न पुग्ने अवस्था छ ।यस्तोमा नयाँ ग्राहक इलेक्ट्रीक स्कुटरतर्फ आकर्षित भइहरेको देखिन्छ ।

त्यस्तै, बिक्रेताहरूले ग्राहक तान्न आकर्षक फाइनान्स स्कीम समेत ल्याइरहेका छन् । साथै, पछिल्लो समय बिक्रेताहरूले चार्जिङ पूर्वाधार निर्माण, सर्भिस, स्पेयर पार्टसमा ध्यान दिनु, बजारमा धेरै रेन्ज दिने स्कुटर आउनु लगायत कारणले उपभोक्ता इलेक्ट्रीक स्कुटरतर्फ आकर्षित हुन थालेका हुन् ।

अहिले बजारमा मुख्य चल्तीका ब्राण्डका इलेक्ट्रीक स्कुटरको माग उच्च छ । शोरुमहरूमा ग्राहकको राम्रै भीड देखिन्छ । स्थापित केही ब्राण्डका स्कुटर पाउन हप्तौंसम्म कुनुपर्ने अवस्था समेत ।

नेपाली बजारमा ३ दर्जन बढी ब्राण्डका इलेक्ट्रीक स्कुटर र मोटरसाइकल उपलब्ध छन् । तीमध्ये करिब १ दर्जन ब्राण्ड रोजाइमा परेको देखिन्छ । चारपाँग्रे ईभीमा चिनियाँ ब्राण्डको वर्चश्व रहँदा दुईपाँग्रेमा भने भारतीय ब्राण्डप्रति धेरै आकर्षण देखिन्छ । तुलनात्मक रूपमा सहजै पाट्र्सपूर्जा र सर्भिस पाउने, लिगेसी ब्राण्ड, धेरै रेन्ज लगायत कारण भारतीय स्कुटरतर्फ ग्राहकको नजर गएको देखिन्छ ।

नेपालमा एथर, चेतक, आइक्यूब, टेलजी, याडिया, एनआइयू, सेग्वे, लुयान, ग्यारो, सुपर सो लगायत ब्राण्डका इलेक्ट्रीक स्कुटर उपभोक्ताको रोजाइमा परेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *