जफत अउडी कार लिलामी

प्रिन्सा अटोमोबाइल्सले अवैध रूपमा आयात गरेको भन्दै जफत गरिएका अउडीका तीन विद्युतीय कार अब लिलामीमा जाने भएका छन्।

२०७६ मा आयात गरिएका यी कारहरू हालसम्म भन्सार विभाग त्रिपुरेश्वरमा थन्किएर बसेका छन्।

सरकारले भन्सारमा लामो समयदेखि थन्किएका सवारीसाधन छिटो लिलामी गर्ने निर्णय गरेपछि यी महँगा कार पनि बिक्री प्रक्रियामा जाने भएका हुन्।

भन्सारमा रोकिएका सवारीहरूको विवरण संकलन गरी प्रयोग, व्यवस्थापन वा लिलामी गर्ने योजना सरकारले अघि बढाएको छ।

अवैध आयात पुष्टि भएपछि भन्सार विभागले ती कार जफत गरी सुरुमा सरकारी प्रयोगमा ल्याउने निर्णय गरेको थियो।

तर लामो समय थन्किँदा मर्मत खर्च बढ्ने र प्रयोग गर्दा आलोचना हुने भन्दै पछि लिलामी गर्ने निष्कर्ष निकालिएको हो।

प्रिन्साले २०७६ सालमा बेलायतबाट यी विद्युतीय कार खरिद गरेर नेपाल ल्याएको थियो।

आधिकारिक बिक्रेता प्रमाणित गर्ने कागजात नपुगेपछि भन्सारले ती कार जफत गरेको थियो।

गाडी छुटाउन कम्पनी अदालतसम्म पुगे पनि प्रमाण नपुगेको भन्दै अदालतले माग अस्वीकार गरेको थियो।

सरकारले पहिले प्रयोग गर्ने भनेका यी कार अन्ततः २०८१ मा लिलामी गर्ने निर्णयमा पुगेको थियो।

भन्सार कार्यालयहरूको पुनर्संरचनाका कारण लिलामी प्रक्रिया ढिलाइ भएको थियो।

अब नयाँ सरकारी निर्णयपछि यी कारको लिलामी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

तीनवटै कारको कुल मूल्य करिब २ लाख १७ हजार पाउण्ड स्टर्लिङ रहेको बताइएको छ।

देशभर भन्सारमा थन्किएका सयौँ सवारीसाधन पनि अब लिलामीमा जाने भएका छन्।

समयमै लिलामी हुँदा राजस्व बढ्ने भए पनि ढिलाइ हुँदा सवारी बिग्रिने र मूल्य घट्ने समस्या देखिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *