नाडा–मुख्यमन्त्री छलफल

काठमाडौँ – नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियासँग अटोमोबाइल क्षेत्रका विषयमा छलफल गरेको छ।

भेटमा मुख्यमन्त्री बानियाले नाडाको नयाँ कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले नाडाले विभिन्न शासन व्यवस्थामा काम गरेको अनुभवको प्रशंसा गरे।

उनले बागमती प्रदेशमा देशका करिब ५० प्रतिशत सवारी दर्ता हुने भएकाले ट्राफिक र पार्किङ समस्या समाधान गर्न सरकार र नाडाबीच सहकार्य आवश्यक रहेको बताए।

साथै, जनशक्ति विकास, रोजगारी सिर्जना र ट्रायल सेन्टर स्थापना जस्ता विषयमा पनि सहकार्य गर्न सकिने उनले बताए।

नाडा अध्यक्ष उप्रेतीले संस्थामा २८८३ सदस्य कम्पनी रहेको र अटोमोबाइल क्षेत्रमा १ खर्बभन्दा बढी लगानी भएको जानकारी दिए। उनले वार्षिक करिब ५००० प्राविधिक जनशक्ती आवश्यक पर्ने बताए।

नाडाका पूर्व अध्यक्ष करण चौधरीले प्रतिभा पलायन रोक्न सीपमूलक तालिम सञ्चालन भइरहेको र प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको बताए।

विशेष सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोबाइल क्षेत्रमा तीव्र प्रविधि परिवर्तन भइरहेकाले दक्ष जनशक्ति र तालिमको आवश्यकता बढेको उल्लेख गरे।

छलफलमा नाडाका अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरूको पनि सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *