लामो समयदेखि रोकिएको कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वतको फलेबास–अर्मादी सडक स्तरोन्नति काम पुनः सुरु भएको छ।
संघीय सरकारको बजेट सुनिश्चित भएपछि यो सडक खण्डको काम अघि बढाइएको हो। यसअघि ठेकेदारको ढिलाइ र बजेट अभावका कारण आयोजना अलपत्र परेको थियो।
करीब १४ किलोमिटर लामो यो सडक डबल लेनमा निर्माण गरिनेछ, जसमा ७ मिटर चौडाइमा कालोपत्र र दुवैतर्फ नाली बनाइने योजना छ।
निर्माणको जिम्मा पाएको कम्पनीसँग करिब ६५ करोड रुपैयाँमा सम्झौता गरिएको छ र ३६ महिनाभित्र काम सक्ने लक्ष्य राखिएको छ।
हाल सडकमा कटिङ, नाली निर्माण र अन्य पूर्वतयारीका काम भइरहेको छ। केही मजदुर अभाव भए पनि काम क्रमशः तीव्र बनाइने बताइएको छ।
यो खण्ड पूरा भएपछि कालीगण्डकी करिडोरको पर्वत भाग पूर्ण हुनेछ, जसलाई जिल्लाको उत्तर–दक्षिण जोड्ने महत्वपूर्ण जीवनरेखा मानिन्छ।
Post Views: 62