पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीहरूले सवारी भाडा समायोजन गर्न सरकारसँग माग गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल ट्रक यातायात व्यवसायी महासंघले इन्धनको मूल्य बढ्दा पुरानो भाडादरमा व्यवसाय चलाउन गाह्रो भएको बताएका छन्।
नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १० रुपैयाँले बढाएको थियो।
व्यवसायीहरूका अनुसार इन्धनको मूल्य बढ्दा सवारी सञ्चालन खर्च सीधै बढ्ने भएकाले वैज्ञानिक आधारमा भाडादर समायोजन गर्न आवश्यक हुन्छ।
इन्धनको मूल्य करिब ५ प्रतिशत तलमाथि हुँदा भाडादर समायोजन गर्ने विषयमा यातायात व्यवस्था विभाग र व्यवसायीबीच पहिल्यै सहमति भइसकेको बताइएको छ।
सरकारले २०६५ सालमै इन्धनको मूल्य परिवर्तनसँगै सवारी भाडा समायोजन गर्ने वैज्ञानिक नीति ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको व्यवसायीहरूको गुनासो छ।
उनीहरूले इन्धनको मूल्य बढ्दा भाडादर पनि समयमै समायोजन नगरे यातायात क्षेत्र सञ्चालन गर्न झन् कठिन हुने चेतावनी दिएका छन्।
Post Views: 55