बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक विस्तार योजनाअन्तर्गत गोरुसिंगे–चन्द्रौटा खण्ड विस्तार गर्न ठेक्का आह्वान गरिएको छ।
लामो समय डिजाइनका कारण ढिलाइ भएको यो परियोजनाको डिजाइन स्वीकृत भएपछि सडक विभागले निर्माणका लागि प्रस्ताव मागेको हो।
निर्माण कम्पनीहरूले वैशाख २१ गतेसम्म आवेदन दिन सक्नेछन्। ठेक्कामा सहभागी हुन चाहने कम्पनीले करिब १६ करोड २६ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ।
करिब १९ किलोमिटर सडकलाई दुई लेनबाट चार लेनमा विस्तार गर्ने योजना छ।
यस खण्डमा ८ वटा पुल निर्माण गरिनेछ र केही भाग सामुदायिक वन क्षेत्रबाट जाने भएकाले वन्यजन्तुको आवतजावत सहज बनाउन ७ वटा अण्डरपास पनि बनाइनेछन्।
सडक विस्तारको काम तीन वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ र निर्माण कम्पनीले मर्मतसम्भारको जिम्मेवारी पनि लिनुपर्नेछ। यो परियोजना विश्व बैंकको सहुलियत ऋण सहयोगमा सञ्चालन भइरहेको हो।
बुटवल–गोरुसिंगे–चन्द्रौटा ६९ किलोमिटर सडक विस्तारका लागि विश्व बैंकले करिब ३५ अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको छ।
यसअघि बुटवल–गोरुसिंगे खण्डको विस्तारको काम भने सुरु भइसकेको छ।
Post Views: 100