बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कोवाङदेखि जोमसोमसम्मको करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्ने काम फेरि रोकिएको छ। यो सडक उत्तर–दक्षिण जोड्ने महत्वपूर्ण मार्ग मानिन्छ।
निर्माण कम्पनीको ढिलासुस्ती र बेवास्ताका कारण सडक निर्माण लामो समयदेखि प्रभावित हुँदै आएको छ।
आयोजनाका अनुसार कामको करिब ८५ प्रतिशत भौतिक प्रगति भइसके पनि बाँकी काम अझै पूरा हुन सकेको छैन।
यो सडक नेपाल–चीन कोरला नाका जोड्ने त्रिदेशीय व्यापारिक मार्गका रूपमा विकास गर्ने उद्देश्यले सुरु गरिएको थियो।
२०७३/७४ सालदेखि सुरु भएको परियोजनाअन्तर्गत करिब ७० करोड रुपैयाँ लागतमा सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता गरिएको थियो।
निर्माण कम्पनीले समयमै काम नगरेपछि पटक–पटक म्याद थप गरिएको छ।
हाल सातौँपटक म्याद थप भइसकेको र ढिलाइका कारण दैनिक जरिबाना पनि लाग्ने व्यवस्था गरिएको आयोजना प्रमुखले बताएका छन्।
यदि तोकिएको समयभित्र काम सुरु नभए ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का प्रक्रिया सुरु गरिने आयोजनाले जनाएको छ।