खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ को सिमानामा पर्ने सुनकोशी नदीको बंशिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज शनिबारदेखि सञ्चालनमा आएको छ।
यो बेलिब्रिज गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालिले जडान गरेको हो।
कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ५७ लाख रुपैयाँ लगानीमा जडान गरिएको यो पुल ५१.८१ मिटर लामो छ।
बेलिब्रिजका लागि आवश्यक सामग्री भने प्रदेश सरकारले १ करोड ८७ लाख रुपैयाँमा खरिद गरेर कार्यालयलाई दिएको थियो।
लामो समयदेखि झोलुंगे पुलबाट जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीय बासिन्दा बेलिब्रिज सञ्चालन भएपछि सहज आवतजावत हुने भन्दै खुसी भएका छन्।
संघीय सरकारबाट बजेट नआएपछि प्रदेश सरकारकै लगानीमा पुल जडान गरिएको गाउँपालिका प्रमुख सालिकराम बञ्जराले बताए।
यसैबीच, दक्षिणी क्षेत्रका नागरिकलाई पूर्वी तराईसँग जोड्ने उद्देश्यले सुनकोशीको धाप्लाङघाटमा निर्माणाधीन २०० मिटर लामो मोटरेबल पक्की पुलको काम पनि तीव्र भएको छ।
ठेकेदारको लापरबाहीले लामो समय अलपत्र परेको यो पुल हाल ४३ प्रतिशत सम्पन्न भएको र डिजाइन परिवर्तन गरेर पाइल फाउन्डेसन प्रविधिबाट काम भइरहेको इन्जिनियर नवीन साहले बताए।
यो पुल संघीय सरकारको २१ करोड ६५ लाख रुपैयाँ लगानीमा निर्माण हुँदैछ र पछिल्लो म्यादअनुसार २०८४ जेठ १९ सम्म पूरा गर्नुपर्नेछ। निर्माण कम्पनीले २०८३ चैतभित्र सवारी वारपार गराउने लक्ष्य राखेको जनाएको छ।
यसअघि सुनकोशीकै फोक्सिङटारमा पनि अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको थियो। त्यहाँको १२० मिटर लामो पक्की पुल २०८१ असोज १२ को बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको हो।
फोक्सिङटारमा बेलिब्रिज आएपछि घुर्मी–कटारी हुँदै घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको यातायात व्यवसायीले बताएका छन्।