अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा ४ किलोमिटर सडकखण्डको स्तरोन्नति काम फेरि तीव्र बनाइएको छ।
लामो समयदेखि पुरानो ठेकेदारको लापरवाहीका कारण रोकिएको काम नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता भएपछि पुनः गति लिएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार सी–एन ए–वान काली जेभीसँग भ्याट बाहेक ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ।
सम्झौताअनुसार १४ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार अहिले विभिन्न स्थानमा कटिङ, साना संरचना र टेवा पर्खाल निर्माणको काम भइरहेको छ।
पहिलो चरणमा आगामी चैतभित्र फराकिलो भागमा कालोपत्र सक्ने र बाँकी काम क्रमशः पूरा गर्ने योजना छ।
चिसो मौसमका कारण सतह (सर्फेस)को काम रोकिएको भए पनि मौसम सहज भएपछि चैतभित्र कालोपत्र सक्ने तयारी गरिएको छ।
कालोपत्रपछि सडकको स्लोप मेन्टेन, पहिरो व्यवस्थापन तथा अन्य साना काम गरिनेछ। यो सडकखण्ड ७ मिटर चौडाइको बनाइने जनाइएको छ।
पहिरो नियन्त्रणका लागि नयाँ प्रविधि प्रयोग गर्ने योजना पनि छ।
यसअघि कार्यालयले तोकिएको समयमा काम नगरेको भन्दै गौरी–पार्वती निर्माण सेवासँगको पुरानो ठेक्का रद्द गरेको थियो।
उक्त कम्पनीले २०७९ जेठ २० मा २० करोड १९ लाख ४६ हजारमा २२ महिनाभित्र काम सक्ने सम्झौता गरेको भए पनि २५ प्रतिशतभन्दा कम काम गरेर अलपत्र पारेको थियो।
सडक निर्माण ढिला हुँदा पछिल्ला तीन वर्षदेखि यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य छन्।
यो सडक तातोपानी नाका, दोलखा, रामेछाप लगायततर्फ जाने मुख्य मार्ग भएकाले समयमै निर्माण सम्पन्न गर्नुपर्ने स्थानीयको माग छ।
यस सडकलाई बलियो बनाउन ग्राभेलमाथि २० से.मी. बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने र त्यसपछि दुई चरणको कालोपत्र (DBM र आस्फाल्ट) गर्ने योजना पनि कार्यालयले अघि सारेको छ।