नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सभाले अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा स्थापना कालदेखि हालसम्म भएका उपलब्धि, अनुभव र भावी योजनाको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रम, संस्थागत संरचना र रणनीतिक योजना औपचारिक रूपमा पारित गरेको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले छोटो समयमै नाइमा देशको मोबिलिटी क्षेत्रको साझा र प्रभावकारी आवाजका रूपमा स्थापित हुन सफल भएको बताइन्।

उनले पहिलो NAIMA Nepal Mobility Expo 2025 को सफल आयोजनाले अटोमोबाइल क्षेत्रका सबै सरोकारवालालाई एकै ठाउँमा ल्याएको र निरन्तर सञ्चालन गरिएका मोबिलिटी सिकाइ सत्रहरूले संस्थाप्रति विश्वास बढाएको उल्लेख गरिन्।
कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तीय विवरण प्रस्तुत गर्दै आगामी वर्षका योजना र बजेटबारे जानकारी गराए।
उनले पारदर्शिता, जिम्मेवार वित्तीय व्यवस्थापन र प्रभावकारी कार्ययोजनामार्फत दीर्घकालीन लक्ष्य हासिल गर्ने प्रतिबद्धता दोहोर्याए।
सभाले आर्थिक वर्ष २०८२/८३ का कार्यक्रमहरू पारित गरेको छ, जसमा नियमित मोबिलिटी संवाद, क्षमता विकास तालिम, अध्ययन तथा अनुसन्धान, नीतिगत बहस र पैरवी तथा NAIMA Nepal Mobility Expo 2026 को आयोजना समावेश छन्।
साथै, सन् २०८३ श्रावण २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा Mobility Expo आयोजना गर्ने तयारी भइरहेको जानकारी दिइयो।

संस्थागत सुदृढीकरणका लागि आकाश गोल्छाको संयोजकत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने निर्णय भएको छ।
साथै, Megatech Group Pvt. Ltd. लाई नयाँ सदस्यका रूपमा समेटिँदै सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीमा सदस्यका रूपमा मनोनयन गरिएको छ।
सभाको अन्त्यमा अध्यक्ष वैद्यले सबै सदस्यलाई धन्यवाद दिँदै नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालीन विकासका लागि नाइमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्।
Post Views: 266