भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन–पोखरा सडकलाई तोकिएको समयमै सक्न निर्देशन दिएका छन्।
जामुनेदेखि पोखरासम्मको पश्चिम खण्ड निरीक्षण गर्दै उनले काम छिटो पूरा गरी यात्रु आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई आग्रह गरे।
पश्चिम खण्डको हालसम्मको प्रगति बुझ्दै मन्त्री घिसिङले देखिएका समस्यामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
यो खण्डमा भौतिक प्रगति करिब ५९.७६ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत पुगेको छ।
आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार ४८.८८ किलोमिटर लामो यस खण्डमध्ये ३७.४ किलोमिटरमा पहिलो तहको एकतर्फी कालोपत्रे सकिएको छ।
यसमध्ये २९.६१ किलोमिटर चार लेन र ७.७९ किलोमिटर दुई लेनमा कालोपत्रे पूरा भएको छ।
यस खण्डका १२ पुलमध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका छन् भने सेती नदीमा एक पुल निर्माणाधीन छ।
गत आर्थिक वर्षमा चार लेन स्तरोन्नतिको लक्ष्यअनुसार २५ किलोमिटरमध्ये २३.०६ किलोमिटर कालोपत्रे भएको छ।
योजनाअनुसार ६६ कल्भर्टमध्ये ६५ वटा निर्माण भइसकेका छन्।
५१.५ किलोमिटर नाला निर्माणको लक्ष्यमा ४५.२ किलोमिटर काम सम्पन्न भएको आयोजनाले जनाएको छ।
वि.सं. २०७८ जेठ ३ गते ७ अर्ब ४० करोड रुपैयाँमा सम्झौता भएको यो सडक आगामी पुस १६ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
Post Views: 154