पाँचखाल खानेपानी अन्तिम चरण

निर्धारित समयभन्दा करिब तीन वर्ष ढिलो भए पनि पाँचखाल–सुनकोशी खानेपानी आयोजना अहिले अन्तिम चरणमा पुगेको छ।

हाल पाँचखाल नगरपालिकाका करिब ६ हजार परिवारमा खानेपानी वितरण भइसकेको छ, जसबाट करिब ३१ हजार नागरिक लाभान्वित भएका छन्।

विभिन्न कारणले आयोजना ढिलाइ भएको हो। आयोजना कार्यालयका अनुसार भौतिक प्रगति करिब ९९ प्रतिशत पूरा भइसकेको छ।

गत वर्ष असोजमा आएको बाढी–पहिरोले संरचना क्षति पुगेपछि मर्मत र पुनर्निर्माण गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए।

सुनकोशी नदीबाट पानी ल्याई पाँचखाल–९ डाँडागाउँमा रहेको ३९ लाख लिटर क्षमताको प्रशोधन केन्द्र र ओभरहेड ट्यांकीमार्फत पानी वितरण सुरु गरिएको हो।

थपिएका केही बस्तीमा पानी पुर्‍याउने काम भइरहेको र आयोजना अन्तिम चरणमा रहेकाले पुसको दोस्रो सातासम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको समितिले जनाएको छ।

हाल स्रोतबाट प्रतिसेकेन्ड ८४ लिटर पानी प्रशोधन गरी घरघरमा पठाइँदै आएको छ।

यसअघि बाढी–पहिरोले मुहान क्षेत्र डुबानमा परेर करिब १ करोड ७० लाख रुपैयाँ बराबरको संरचना र पाइपलाइन क्षति भएपछि पहिलो चरणमै पानी वितरण गर्ने योजना प्रभावित भएको थियो।

दातृ निकायसँग समन्वय गरी समय थप गरेर आयोजना सफलतापूर्वक अघि बढाइएको भए पनि औपचारिक उद्घाटन भने बाँकी रहेको समितिले जनाएको छ।

आयोजना सम्पन्न भएपछि प्रतिघण्टा ३ लाख २ हजार ४ सय लिटर पानी तान्न सकिनेछ। लगातार २० घण्टा पानी तान्दा दैनिक करिब ६० लाख लिटरभन्दा बढी पानी उपभोग गर्न सकिने क्षमता रहेको छ।

आयोजनाअन्तर्गत सुनकोशी नदी किनारमा इनार, पानी संकलन ट्यांकी, ओभरहेड ट्यांकी, वितरण ट्यांकी, ब्रेक प्रेसर ट्यांकी, पालेघर, जेनेरेटर घर, पर्खाल, तारबार तथा मुख्य र शाखा प्रसारण लाइन निर्माण सम्पन्न भएका छन्। हाल ६ हजार ३७ धारा सञ्चालनमा आएका छन्।

२०७७ असार १५ गते निर्माण सम्झौता भएको यो आयोजना कोरोना महामारी, मेलम्ची तथा सुनकोशीमा आएको बाढी–पहिरोका कारण ढिलाइ भएको हो।

एक अर्ब ४७ करोड ४३ लाख रुपैयाँ लागतको यस आयोजनाबाट पाँचखाल नगरपालिकाका १० वडाका ३१ हजार ४१५ नागरिक लाभान्वित भएका छन्।

भविष्यमा सन् २०४० सम्म करिब ४५ हजार नागरिकलाई खानेपानी सेवा पुर्‍याउने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *