नारायणगढ–बुटवल सडक विस्तारको काम ७६ प्रतिशत पुगेको छ।
चौथो पटक थपिएको म्यादभित्रै काम पूरा गर्ने उद्देश्यसहित अहिले निर्माण तीव्र गतिमा चलिरहेको छ भनेर पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए।
उनका अनुसार पछिल्लो म्याद २०८३ असारमा सकिन्छ। हाल पूर्वी खण्डका अधिकांश स्थानमा कालोपत्र, पुल निर्माण, सर्भिस लेन तथा डिभाइडर सफाइको काम एकसाथ भइरहेको छ।
गैँडाकोटको जय श्री पुल, चोरमारा बजारको पुल, अरुणखोला पुल र दुम्किबासमा मात्रै कालोपत्र बाँकी छ।
दाउन्ने क्षेत्रमा कल्भर्ट निर्माण अन्तिम चरणमा पुगेको छ र चैतभित्रै बाँकी १४ प्रतिशत काम पनि सक्ने लक्ष्य राखिएको छ।
२०७५ माघ २४ गते सम्झौता भएको यो ११३ किलोमिटर सडक २०७९ साउनमै बन्ने योजना थियो। समयमै काम नसकिँदा परियोजनाको म्याद चार पटकसम्म बढाइएको छ।
एडीबीको सहयोगमा भइरहेको यस परियोजनामा ७० किलोमिटरमा चार लेन, २९ किलोमिटरमा चार लेनसहित सर्भिस लेन तथा दाउन्ने क्षेत्रमा तीन लेन सडक निर्माण गरिँदैछ।