कोटेश्वर सुधारका लागि जापानी ऋण

नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार परियोजनाका लागि ऋण सम्झौता भएको छ। अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो।

जापानले जाइकामार्फत ३४ अर्ब ५९ करोड जापानी येन (करिब ३१ अर्ब ७६ करोड रुपैयाँ) ऋण सहयोग दिनेछ। यो ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष, र ब्याजदर वार्षिक ०.२% रहनेछ।

यस परियोजनाअन्तर्गत कोटेश्वर–जडीबुटी क्षेत्रमा अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर र बिपी राजमार्गतर्फ चल्ने सवारी आवतजावत सजिलो बनाउने र ट्राफिक जाम कम गर्ने अपेक्षा गरिएको छ। परियोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभाग मार्फत कार्यान्वयन हुनेछ।

सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे। त्यस्तै अर्का सम्झौतामा सह-सचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरे।

जापानी राजदूतले यो परियोजनाले उपत्यकाको यातायात व्यवस्थापनमा ठूलो सुधार ल्याउने बताए र नेपाल–जापानबीचको लामो मैत्रीपूर्ण सम्बन्धको स्मरण गरे।
अर्थमन्त्री खनालले पनि यो परियोजनाले राजधानीको ट्राफिक व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *