विश्वभर ईभी बिक्रीमा २३% वृद्धि

विश्वभर विद्युतीय सवारी (ईभी) बिक्री तीव्र रूपमा बढ्दै गएको छ। सन् २०२५ को अक्टोबर महिनामा मात्र पूर्ण विद्युतीय र प्लग–इन हाइब्रिड सवारीसहितको बिक्री अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले वृद्धि भएको छ।

रिसर्च फर्म ह्रो मोसनका अनुसार यो वृद्धिको मुख्य कारण विश्वका ठूला सवारी बजारहरू — विशेष गरी युरोप र चीन — मा माग बढ्नु हो।

युरोपेली देशहरू जर्मनी, फ्रान्स र बेलायतमा अक्टोबरमा ईभी बिक्री रेकर्ड उच्च स्तरमा पुगेको छ। युरोपियन युनियनले हालै ब्याट्री उत्पादन परियोजनाहरूलाई स्वीकृति दिएपछि उपभोक्ताको विश्वास झन् बढेको अनुमान गरिएको छ।

चीन विश्वको सबैभन्दा ठूलो ईभी बजार बनेको छ। विश्वभर बिक्री हुने ईभीमध्ये करिब आधा चीनमै बिक्री हुने गर्छ।

त्यहाँ ईभी र पेट्रोल–डिजेल सवारीको मूल्य लगभग समान भएकाले बिक्रीमा तीव्र वृद्धि भएको हो।

तर उत्तर अमेरिकामा भने उल्टो स्थिति देखिएको छ। अक्टोबरमा त्यहाँ ईभी बिक्री ४१ प्रतिशतले घटेको छ।

यसको मुख्य कारण सरकारले दिँदै आएको ७५०० अमेरिकी डलरको ट्याक्स क्रेडिट हटाउनु हो।

अमेरिकामा पेट्रोल सवारीभन्दा ईभी अझै पनि धेरै महँगो भएकाले माग घटेको बताइन्छ।

सन् २०२५ को अक्टोबरमा विश्वभर करिब १९ लाख ईभी बिक्री भएका छन्।

चीनमा मात्रै १३ लाख, युरोपमा ३ लाख ७२ हजार ७८६ र बाँकी विश्वका बजारहरूमा १ लाख ४१ हजारभन्दा बढी ईभी बिक्री भएका छन्।

नेपालमा पनि दशैं–तिहारको समयमा माग बढेकाले ईभीको आयातमा उल्लेखनीय वृद्धि भएको छ।

सरकारले आयात कर घटाएर पेट्रोल सवारीभन्दा ईभीलाई सस्तो बनाएपछि यसको लोकप्रियता झन् बढ्दो क्रममा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *