राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले बाँध, विद्युतगृह र अन्य संरचना निर्माणका काममा ढिलाइ गरेकाले पटेल–रमण जेभीसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ।
आयोजनाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ठेक्का किन नतोड्ने भन्नेबारे स्पष्टिकरण मागेको छ।
६१ प्रतिशत समय बितिसक्दा पनि कामको प्रगति जम्मा १० प्रतिशत मात्र भएकाले ठेक्का तोड्ने निर्णय लिइएको हो।
बारम्बार सचेत गराउँदा पनि ठेकेदारले सुधार नगरेपछि अब ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत गर्ने तयारी गरिएको छ।
ऊर्जा मन्त्री कुलमान घिसिङले पनि केही महिनाअघि ढिलाइबारे छलफल गर्दै नयाँ विकल्प खोज्ने संकेत दिएका थिए।
सुरुङ निर्माण सकिए पनि बाँध र विद्युतगृह नबन्दा आयोजना रोकिएको छ।
१४ अर्ब रुपैयाँ लागतको यो आयोजनाले सुनकोशी नदीको पानी मरिणमा पथान्तरण गरी ३१ मेगावाट बिजुली उत्पादन र मधेशका पाँच जिल्लामा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ। हालसम्म २ अर्ब १४ करोड रुपैयाँ मात्र भुक्तानी भएको छ।