म्याग्दीमा ३२ सडक योजना सञ्चालन

गण्डकी प्रदेश सरकारले म्याग्दी जिल्लामा यस आर्थिक वर्ष २०८२/८३ का लागि ३२ वटा सडक पूर्वाधार योजना अघि बढाउने निर्णय गरेको छ।

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालन हुने ती योजनाका लागि कुल ६२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

ती योजनामध्ये १७ क्रमागत योजनाका लागि ५२ करोड र १५ नयाँ योजनाका लागि १० करोड रुपैयाँ छुट्याइएको छ। बर्खा र चाडपर्वपछि निर्माण व्यवसायीले काम पुनः सुरु गरेका छन् भने नयाँ योजनाका लागि सर्वेक्षण र लागत अनुमान भइरहेको छ।

सबैभन्दा ठूलो योजना दरवाङ–ताकम–शिवाङ–मुना–जलजला–ढोरपाटन सडक हो, जसका लागि यस वर्ष मात्र २३ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। अन्य सडक र पुल योजनामा पनि ३० लाखदेखि १ करोड रुपैयाँसम्मको बजेट तोकिएको छ।

सडक विस्तार र स्तरोन्नतिले ग्रामीण क्षेत्रमा यातायातको सहजता बढाउने, आर्थिक क्रियाकलाप सजीव पार्ने र बसाइँसराइ घटाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *