अर्थ कूटनीतिमा सहकार्य जरुरी

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन) का डिन चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र एचसीसीएनबीिच बलियो सहकार्य आवश्यक रहेको बताउनुभएको छ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा चन्द्रागिरीमा आयोजित “नेपालको निर्यात व्यापार: अवस्था, चुनौती र सम्भावना” विषयक कार्यशालामा बोल्दै ढकालले ६६ देशका अवैतनिक वाणिज्यदूतको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले सरकार र अनररी कन्सुलर कर्पस्बिच विश्वास र साझेदारीपूर्ण सम्बन्ध हुनुपर्ने र उनीहरूलाई केवल औपचारिक दूत नभई आर्थिक कूटनीतिज्ञ को रूपमा व्यवहार गर्न आग्रह गर्नुभयो।

ढकालले वाणिज्यदूतहरूले आफ्नै स्रोत र सञ्जाल प्रयोग गरेर नेपाललाई विदेशमा प्रवर्द्धन गरिरहेको, संकटका बेला पनि उनीहरूले प्रतिनिधित्व गर्ने देशले नेपाललाई सहयोग गरिरहेको भन्दै भविष्यका सहकार्य बलियो बनाउन सकिने बताउनुभयो।

सरकारद्वारा हालै गठन गरिएको आर्थिक कूटनीति विभागले निजी क्षेत्र, कूटनीतिक निकाय र सरकारबीच समन्वय बढाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

“आर्थिक कूटनीति व्यापारमा मात्र सीमित छैन, यसले रोजगारी, प्रविधि, ब्राण्डिङ, पर्यटन लगायतका क्षेत्रमा योगदान दिन सक्छ,” उहाँले भन्नुभयो।

ढकालले निजी क्षेत्रले ८१% भन्दा बढी GDP र ८६% भन्दा बढी रोजगारी सिर्जना गरिरहेको उल्लेख गर्दै, आर्थिक सहयोग होइन, सम्मान, पहिचान र निर्णय प्रक्रियामा स्थान चाहिएको स्पष्ट पार्नुभयो।

भारत, चीन, यूएई जस्ता मुलुकमा प्रधानमन्त्रीको भ्रमणका क्रममा आयोजित व्यापार सम्मेलनले लगानी र सहकार्यमा ढोका खोलेको उल्लेख गर्दै, भविष्यमा यस्ता कार्यक्रम विभागसँग मिलेर अझ प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *