संघीय राजधानी काठमाडाैंलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडकमार्गमा रहेको बिपी राजमार्गका सडकखण्ड अहिले थिलथिलो अवस्थामा पुगेको छ।
उक्त राजमार्गको मध्यक्षेत्र भत्किएको र बगाएको तथा जोखिमपूर्ण अवस्थाबाट गुज्रिएको छ।
वर्षायाममा केही भागमा क्षति पुर्याए पनि गतसाल असोजमा भएको अबिरल वर्षामा काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाइदिएको छ।
वि.सं. २०७२ को विनासकारी भूकम्पले केही सडकखण्ड क्षतिग्रस्त बनाएको थियो भने केही सडकखण्ड जोखिमकै अवस्थामा रहेका थिए।
देशकै उत्कृष्ट मानिएको यो राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल-सिन्धुली-बर्दिवास एक सय ६० किलोमिटर लामो सडक बनेको हो।
करिब २६ अर्ब जापानी रुपियाँ बराबरको लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग सिधा जोड्को हो।
यस राजमार्ग निर्माण सम्पन्न भएपछि पूर्व-पश्चिम राजमार्ग हुँदै नारायणघाट-मुग्लिन-काठमाडौं घुम्नुपर्ने झन्झट हटाइदिएको थियो।
संघीय राजधानी काठमाडाैंबाट बागमती प्रदेशअन्तर्गत अरनिको राजमार्गअन्तर्गत धुलिखेलबाट सुरु भएको यस राजमार्ग मध्यपहाडीको हाल निर्माणाधीन पुष्पलाल रार्जमार्गसँग समेत जोडिएको छ।
तर, भूकम्पले केही दूरीका सडक भत्काएको यस मार्गलाई बाढीले थप क्षतिग्रस्त बनाएको हो।
राजमार्गअन्तर्गत यस क्षेत्रमा पुल नबनेका भ्याकुरे, घ्याम्पे र रोशी खोला बारम्बार समस्या बन्दै आइरहेका छन्। वर्षा भएका बेला यी खोलाबाट आउने खहरे र बाढीले हरेक दिनजसो बाटो बन्द हुने अवस्था निम्तिएको छ।
गत सालको बर्षाले काभ्रेपलाञ्चोकेको भकुण्डेबेँसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा बाढीले नराम्रो क्षति पुर्याएको हो।
विशेषगरी नेपालथोक-आँपटार, कालढुंगा, डालाबेँसी, चिउरीबास, एक नम्बर पुललगायतका ठाउँमा सयौ मिटर सडक बगाएको छ।
त्यसबेला सानो खोलाले पनि डाइभर्सनसमेत बगाएको थियाे।
हाल वर्खा याम सुरु भैसकेकाले उक्त राजमार्गले कति ठूलो क्षति ब्यहोर्ला भन्नेमा अनुमान गर्न सकिएको छैन।
काभ्रेपलाञ्चोक तर्फको नार्केबजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेँसीका सडकखण्ड पूर्णरुपमा बगाएको छ।
गत सालको वर्षाले बगाएको सडकमा अस्थायी ट्रयाक खोलिएको भए पनि गत बैशाख अन्तिम साताको बाढीले फेरि डाइभर्सनलगायत अस्थायी सडक बगाएको छ।
यस राजमार्गको क्षतिग्रस्त क्षेत्रको स्थायी पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइए पनि बर्खाको कारण काम अघि बढ्न सकेको छैन। अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गर्दै साढे आठ अर्ब रुपैयाँको सहमति दिएको थियो।
सडक विभागले तयारी पनि गरेको छ, तर वर्षाले काम सुरु गर्न मुस्किल बनाइरहेको छ। सडक विभागको अध्ययन प्रतिवेदनअनुसार अनुसार करिब ३० किलोमिटरको पुनर्निर्माणमा मात्रै १० अर्ब रुपैयाँ लाग्नेछ।
त्यसमध्ये पनि करिब आठ किलोमिटर सडक त पूरै कटान भएको छ, जहाँ नयाँ ट्रयाक बनाउनुपर्ने देखिन्छ। भौगोलिक जटिलता र बारम्बारको बाढीले काम झनै चुनौतीपूर्ण बन्दै गइरहेको छ।
जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक अध्ययनले बिपी राजमार्गमा १६ टनभन्दा माथिको सवारी साधन सञ्चालन गर्न रोक लगाएको छ।
तर, व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका सवारी साधन सञ्चालन गर्दै आइरहेका छन्।
बिपी राजमार्गमा ट्रिपरले २५ टनसम्म गिट्टी वालुवा लिएर निर्वाधरुपमा सञ्चालन हुने गरेपनि नियम कार्यान्वयन गर्ने प्रहरी भने मूकदर्शक बन्ने गरेको देखिन्छ।
बिपी राजमार्गको संरचना भत्काउने मुख्य कारकको रुपमा यस सडकमा सञ्चालन हुने ट्रिपर रहेका छन्।
दैनिक यस सडकमा ६ सयभन्दा बढी ट्रिपर क्षमताभन्दा बढी भार लिएर सञ्चालन भइरहेका छन्।
बेलाबखत प्रहरीले जाँच गरे पनि नियमिति रुपमा अनुगमन हुन सकिरहेको छैन।
यसको फाइदा ट्रिपर व्यवसायीले उठाउँदै आएका छन्। संगठित रुपमा ट्रिपर सञ्चालक र क्रसर व्यवसायीले स्थानीय प्रशासनलाई प्रभाव पार्दै बिपी राजमार्गको संरचनालाई जोखिममा पारिहरेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल बिपी राजमार्गमा साना-ठूला गरी दैनिक तीन हजारभदा बढी सवारी साधन आवतजावगत गर्ने गरेका छन्।
मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्वबाट आउने अधिकाशं साना सवारी साधन बिपी राजमार्ग हुँदै सञ्चालन हुन्छन्।