सुनसरीको धरान उपमहानगरपालिकाबाट गत वैशाख १२ गते चोरी भएको बस विराटनगरमा पार्टपूर्जा खोलेर बिक्री गर्दै गरेको अवस्थामा फेला परेको छ ।
बस हराएपछि गाडीधनी र प्रहरीले खाजी गरिरहेको अवस्थामा विराटनगर–१२ स्थित मलहनुवाचौक नजिकै खालीचौरमा फेला पारिएको मोरङका प्रहरी उपरीक्षक (एसपी) नारायण चिमरियाले जानकारी दिए ।
चोरी भएको बसका पार्टपूर्जा खोलेर विराटनगर–६ सरोचियास्थित कवाडीमा बिक्री गर्न थालिएको अवस्थामा फेला परेको हो ।
यातायात व्यवसायी हरेन्द्र चेम्जोङका अनुसार प्रदेश १, ०२–००१–९७४९ नम्बरको बस धरान बरगाछीमा पार्किङमा राखिएको बेला हराएको थियो ।
बस फेला पर्दा मंगलबार विहान मात्रै तीन पटकसम्म त्यसका पार्टपूर्जा कवाडीमा ल्याइएको थियो ।
खाली स्थानमा रोकिएको बसका पार्टपूर्जा क्रमशः खोल्दै कवाडीमा पुर्याउँदै गर्ने व्यक्ति भने फरार छन् ।
प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको एसपी चिमरियाले बताए ।
उनका अनुसार कवाडी सञ्चालक गीतादेवी साह र उनका नातेदार लाई सहयोग गर्दै आएका ज्वाँई दिपेन्द्र साह फरार छन् ।