डीपीआरमा स्थानीय अस्पताल चौकदेखि बिजौराबजार हुँदै सडक डुङ्खोलासम्म जोड्ने उल्लेख छ। डीपीआर बनाउने बेला कुनै आपत्ति नजनाएका स्थानीयले सडक निर्माणको क्रममा अवरोध गरिरहेका हुन्।
डीपीआरअनुसार सडक निर्माण गर्दा बिजौरा बजार नै विस्थापित हुने अवस्था आएको स्थानीयको भनाइ छ। बजारसँगै केही व्यक्तिको जग्गा सडकमा पर्ने भएपछि स्थानीयले अवरोध गरेका हुन्।
सडक निर्माण गर्दा चौकुने गाउँपालिका–४ का वडाध्यक्ष टोपबहादुर बिसीको समेत जग्गा पर्दछ। वडाध्यक्ष बिसी भन्छन्, ‘डीपीआरअनुसार सडक निर्माण भए म पनि विस्थापित हुनुपर्छ, मेरो झन्डै आठ रोपनी जग्गा सडकले मासिन्छ।
जनतालाई विस्थापित गराएरभन्दा अन्यत्रबाट राजमार्ग घुमाएर लगौं भन्ने स्थानीयको माग हो।’ तर, राजमार्ग कार्यालयले राष्ट्रिय राजमार्ग घुमाउनुभन्दा जतिसक्यो छोटो मार्ग हुने गरी निर्माण हुनुपर्ने बताउँदै आएको छ।
डीपीआर अनुसार सडक लैजाँदा बजारका झन्डै दुई दर्जन घर विस्थापित हुने स्थानीयको भनाइ छ। साथै उनीहरूले अस्पतालको किनार हुँदै बिजौरा स्कुलको दक्षिणबाट डुङ्खोला सडक लैजानुपर्ने अडान लिएका छन्।
स्थानीयको मागअनुसार सडक घुमाएर लैजाँदा राजमार्गलाई थप २ किलोमिटर घुमाउनुपर्ने हुन्छ। यो स्थानमा भइरहेको अवरोध हटाएर सडक निर्माण गर्नका लागि सर्वपक्षीय छलफल पनि भए। तर, सहमति जुट्न नसकेको आयोजनाको भनाइ छ।
राजमार्गको डीपीआरबाहेक अन्यत्रबाट सडक लैजान नसकिने आयोजना कार्यालयका इन्जिनियर रेशम वलीको भनाइ छ।
स्थानीयको अवरोधपछि बिजौरा क्षेत्रको विवाद त्यत्तिकै छाडेर बाँकी सडकमा कालोपत्रे गर्न लागिएको उनले बताए।
अहिले बिजौराको डुङ्खोलादेखि बल्दे र बिजौरा डाँडादेखि विद्यापुर डाँडासम्मको २२ किलोमिटरमध्ये १७ किलोमिटर सडक असारसम्म कालोपत्रे गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।
सुर्खेत पश्चिमको बड्डीचौरबाट मदनभण्डारी राजमार्ग लगामसम्म जोडिन्छ। यो खण्डमा राजमार्गको दूरी ८५ किलोमिटर छ।
यो राजमार्गको पश्चिम खण्डमा स्तरोन्नतिमा सुरुवातदेखि नै विभिन्न विवाद र अवरोधले काममा ढिलाइ भइरहेको छ।
पश्चिम खण्डमा सुरुवातदेखि नै विभिन्न विवाद देखिने गरेका छन्। यही खण्डमा डीपीआर चरणमै विवाद भयो। बराहताल र पञ्चपुरीमा स्थानीयले डीपीआर चरणमै अवरोध गरे।
बराहतालको बड्डीचौर र पञ्चपुरीको बराइचे र दुलालथाईमा स्थानीयले सडकका सर्वे नै गर्न दिएनन्।
राजमार्गको दायाँबायाँ सडक छाड्ने विषयमा स्थानीयले असहमति जनाउँदै काममा अवरोध गरेका थिए। लामो प्रयासपछि यो विवाद त समाधान भयो। तर, यही खण्डमा अर्को विवाद सुरु भयो।
बड्डीचौरदेखि खम्बागाडे सम्मको खण्डमा सडकमा रहेका रुख हटाउने विवादले काम नै रोकियो। रुख काट्ने अनुमति नपाउँदा लामो समयसम्म यो खण्डको काम हुन पाएन। यसले पनि सडक स्तरोन्नतिको काममा ढिलाइ भयो।
यद्यपि अब यो स्थानमा प्रदेश सरकारले स्तरोन्नतिको काम गर्ने भएको छ। पूर्वीखण्डमा ९० प्रतिशत कालोपत्रे मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पूर्वी खण्डमा भने धमाधम काम भइरहेको छ।
हालसम्म पूर्वी खण्डमा ९० प्रतिशत सडक कालोपत्रे भइसकेको छ। यो खण्डमा अब केवल १० प्रतिशत मात्र कालोपत्रे हुन बाँकी छ। यो राजमार्गअन्तर्गत पूर्वीखण्डमा भेडाबारीदेखि धुलियाबिटसम्मको दूरी ३५ किलोमिटर सडक पर्दछ।
जसमध्ये हालसम्म २९ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी रहेको ६ किलोमिटर सडकमा पनि कालोपत्रेको काम भइरहेको छ।
सुर्खेतको पूर्वी खण्डमा सहज काम हुँदा सडक कालोपत्रे र पुलको काम अन्तिम चरणमा पुगेको राजमार्ग आयोजना कार्यालय सुर्खेतले जनाएको छ।
मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतका इन्जिनियर रेशम वलीका अनुसार जिल्लाको पूर्वी खण्डको काम अब अन्तिम चरणमा छ।
उनी भन्छन्, ‘पूर्वी खण्डको अब ६ किलोमिटर मात्र कालोपत्रे हुन बाँकी छ, त्यो पनि काम भइरहेकाले चाँडै सकिन्छ।
यो खण्डमा निर्माण गर्नुपर्ने अधिकांश पुल निर्माण भइसके, अब एउटा पुल मात्र ढलान गर्न बाँकी छ।’