पुरानो बाटोमा बस पाउनै मुस्किल

सामाखुसी निवासी आकाश थापा प्रायः भक्तपुरको सानोठिमीमा धाइरहेका हुन्छन्। अधिकांश समय उनी आवतजावत गर्न सार्वजनिक यातायात प्रयोग गर्छन्।

सानोठिमी आउँदा आकाश सानोठिमी नयाँ बसपार्क दूधपाटी रुटमा चल्ने बस चढ्छन्। बिहीबार पनि आकाश सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय आएका थिए।

उनी पटकपटक रक–फरक कारणले आए। तर, आउँदा उनले यातायातमा भोग्नु परेको समस्या भने फेरिएको छैन।

एउटै छ। सानोठिमी बस बिसौनीमा बस कुरिरहेका उनले घण्टौं बस कुर्नु परेको समस्या यसरी सुनाए। ‘सानोठिमीमा त म प्रायः आइरहेको हुन्छु।

आज त परीक्षा नियन्त्रण कार्यालय आएको थिएँ। यता नयाँ बसर्पाकको गाडी सधैँ ढिलो नै आउँछ।

कहिलेकाहीँ त घण्टौं कुर्नु परेको छ। यस रुटमा बस कम चल्ने भएकाले हामीजस्ता सेवाग्राहीलाई धेरै समस्या परेको छ’, उनले भने।

अर्का यात्रु स्वणिर्म अवाल पनि चाबहिलतर्फ जाने बस कम भएको गुनासो गर्छन्। सिनामंगलस्थित वृजवाटर कलेजबाट केही महिनाअघि प्लस टु उत्तीर्ण भएका २१ वर्षीय उनी बस नपाउँदा कैयौँ पटक त आधा बाटो हिँडेरै घर गएका छन्।

‘बिहान त बस पाइन्छ। दिउँसो त बस नै पाउन गाह्रो छ। सधैं धेरै बेर कुर्नुपर्छ।

धेरैजसो त आधाबाटो हिँडेर घरतिर जान्छु। कहिले त घरसम्मै हिँडेर पनि पुगेको छु’, उनले भने।

भक्तपुरको पुरानो ठिमी रुटमा नयाँ बसपार्क जाने यात्रुलाई यो सधैंको समस्या बनेको छ।

घण्टौं कुर्नुपर्ने सास्तीले उनीहरू हैरान भइसके। झन् ४ बजेपछि त बस नै पाउन मुस्किल पर्ने यात्रुको गुनासो छ।

हाल सुगम मध्यपुर यतायात सेवा प्रालिले पुरानो ठिमी रुट व्यवस्थापन गरिरहेको छ। प्रालिका अनुसार यसमा २० वटा मात्र बस दर्ता भएका छन्।

दर्ता भएकामध्ये १३ वटासम्म बसले मात्र सेवा दिइरहेका छन्। दूधपाटीस्थित बसपार्कका टाइमकिपर राम राजवाहकका अनुसार प्रत्येक १५–१५ मिनेटमा भक्तपुरको बसपार्कबाट नयाँ बसपार्क जाने एउटा बस छुट्ने गरेको छ।

तैपनि तुलनात्मक रूपमा बसको संख्या निकै कम हो। जबकि दूधपाटी रत्नपार्क रुटमा दर्ता भएका ६० वटामध्ये ४५ वटासम्म र दूधपाटी लगनखेल रुटमा दर्ता भएका १५ वटामध्ये आवश्यकताअनुसार अन्य रुटको पनि बस यही रुटमा गएको संख्यासहित २० वटा र सरस्वतीखेल रत्नपार्क रुटमा १७ वटा बसले सेवा दिइरहेका छन्।

बसको संख्या कम भएको कारण बसपार्क जाने यातायात चुस्तदुरुस्त नभएको सुगम मध्यपुर यातायात सेवा प्रालिले जनाएको छ।

प्रालिका अध्यक्ष बाबुकाजी छुँजूले २०७७ सालमा कोरोना महामारीका कारण बस संख्या घटेको र सो समयदेखि खासै यो रुटमा नयाँ बस दर्ता नभएकाले बसको संख्या कम भएको जनाए।

‘गाडी ढिलो हुनुको कारण त गाडी नै कम हुनु हो। नयाँ बसपार्क जाने बस नै कम छन्। एकताका त १ सय ६० वटासम्म गाडी चलेको थियो।

कोरोनामा ह्वात्तै घट्यो। त्यतिबेला नयाँ बसपार्कको पनि घट्यो। त्यतिबेलादेखि बसपार्कमा धेरै नयाँ गाडी आएको छैन।

अहिले जति पनि छन्, अधिकांश पुरानै छन्। एउटा नयाँ गाडी खरिद गर्न ठूलो पुँजी लाग्छ।

त्यस माथि यो समय यातायातमा लगानी सुरक्षित छैन’, उनले भने। यातायात क्षेत्रमा सरकारले लागू गरेको बुढो कर र सरकारद्वारा लागू गरिएको २० वर्षभन्दा बढी पुरानो सार्वजनिक यातायात चलाउन नपाइने नीतिका कारण पनि बस व्यवसायीहरू निरुत्साहित भएको उनको भनाइ थियो।

जसको अप्रत्यक्ष असर रुटमा पनि परेको छ। उनका अनुसार रुटमा यही असरले गर्दा पनि नयाँ बस दर्ता आउन नसकेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *