पुलले ल्याएको खुसी

गाउँ जोड्ने गरी झोलुंगेपुल बन्ने भएपछि हिमाली भेगका बासिन्दा खुसी भएका छन्।

चुमनुब्री गाउँपालिका–४ छाक गाउँलाई मनास्लु पदमार्गमा जोड्ने गरी झोलुंगेपुल बन्न लागेपछि गाउँले खुसी भएका हुन्।

गण्डकी प्रदेश सरकारको ३ करोड २० लाख, ९१ हजार रुपैयाँ लागतमा छाक गाउँ र गप बजार जोड्ने गरी पुल बन्न लागेको हो।

सो पुल बनेपछि छाकका ५० घरधुरी बासिन्दालाई मूलबाटोसम्म झर्न सहज हुने भएको वडाध्यक्ष पेमाग्याल्बो लामाले जानकारी दिए।

‘छाकका ५० घरधुरीका बासिन्दालाई मूलबाटोको गप बजारसम्म झर्न असाध्यै कठिन थियो। बाटोमा ठूलो पहिरो थियो।

भीरमा झारल हिँडेर ढुंगा खसिरहने, ढुंगाले लागेर मान्छे मर्ने, घाइते हुने भइरहन्थ्यो’, वडाध्यक्ष लामाले भने, ‘अब यहाँ पुल बनेपछि गाउँलेले त्यो जोखिमबाट छुटकारा पाउने भएका छन्।

अनि क्वाक गाउँका ५० घरधुरीका बासिन्दा पनि मूलबाटोको गप बजार, नाम्रुङ, ल्हो, सामागाउँ, मनास्लु पदमार्गसम्म जान सजिलो हुनेछ।’

पुल बनिसकेपछि गाउँसँग जोड्ने सुरक्षित पदमार्ग पनि बन्ने उनले बताए।

यसअघि सोबाटोमा माथिबाट झरेको ढुंगा लागेर चुमनुब्री—३ का एकको मृत्यु भएको थियो। बर्सेनि कैयौं घाइते भइरहन्छन्।

‘यहाँ पुल बनेपछि गाउँलेले अर्को सुरक्षित बाटो हिँड्न पाउँछन्’, वडाध्यक्ष लामाले भने, ‘पदमार्ग बनाउन पनि प्रदेश सरकारबाट ४० लाख रुपैयाँ बजेट परेको छ।

पुल र बाटो बनेपछि गाउँलेलाई अब त्यो जोखिम हुने छैन।’

बूढीगण्डकीमाथि सो पुल आउँदो चैतसम्म निर्माण गरिसक्ने गरी तीन वर्षअघि बीएलटी मनास्लु जेभी निर्माण कम्पनीले सम्झौता गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *