कम्बोडिया-भैरहवा सीधा उडान : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया र भैरहवालाई सीधा हवाई उडानले जोड्ने प्रस्ताव गरेका छन्।
उनले कम्बोडियाका संस्कृति र धार्मिक मामिलाका मन्त्री चाई बोरिनसँग आइतबार भएको भेटमा कम्बोडिया–भैरहवा–कम्बोडिया सीधा उडान सुरु गर्ने कुरा गरेका हुन्।
मन्त्री पाण्डेले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई सहुलियत दिइएको जानकारी पनि कम्बोडियन मन्त्रीलाई दिए। उनले दुवै देशका प्रमुख बौद्ध तीर्थस्थललाई जोडेर ‘बौद्ध सर्किट’ बनाउने प्रस्ताव पनि गरे।
पर्यटन प्रवर्द्धनका लागि दुवै देश बीच कला, संगीत र साहित्यमा सहकार्य गर्न र सांस्कृतिक महोत्सव तथा पर्यटन बोर्डहरू बीच साझेदारी गर्न सकिने कुरा पनि छलफलमा आएको थियो।
भेटमा, दुवै देशका युनेस्को विश्व सम्पदा स्थलहरूको संरक्षण र प्रवर्द्धन, सांस्कृतिक समझदारी र शान्तिका लागि युवा र शैक्षिक आदानप्रदानका विषयमा पनि छलफल भएको थियो।