बाढीले बगाएको खुर्कोटको पुल जोडियो, शनिबारबाट यातायात सञ्चालन हुने

बाढीले बगाएको खुर्कोटको पुल जोडियो: असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको मोटरेबल पुलको आधा भाग बगाएपछि उक्त पुल पुनः मोडुलर प्यानल ब्रिज राखेर नेपाली सेनाले बुधबार साँझ दुई जिल्लालाई जोडेको छ ।

नदीले बगाएको खुर्कोटको मोटरेबल पुल तत्काल निर्माण गरी यातायात सहज बनाउने गरी नेपाल सरकारले पुल बनाउने जिम्मा नेपाली सेनालाई दिएको थियो ।

सरकारले क्षतिग्रस्त पुल निर्माण गर्ने जिम्मा दिएसँगै नेपाली सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौंको प्राविधिक टोलीले प्राविधिक काम सुरु गरी बुुधबार बेलुका एमपिबी (मोडुलर प्यानल ब्रिज) राखेर दुुई जिल्ला जोड्न सफल भएको नेपाली सेना चौध बाहिनी अड्डाका कर्नेल नारायण तुम्बाहाम्फेले जानकारी दिए ।

३६० फिट लम्बाइ भएको उक्त पुलको आधा भाग १८० मिटर नदीले बगाएको थियो। सेनाले असोज २२ गतेबाट निर्माण थालेको उक्त पुल नौ दिनमा दिन दुई जिल्ला जोड्न सफल भएको हो ।

उक्त पुल पुष्पलाल राजमार्गअन्तर्गत एडिबीको सहयोगमा निर्माण भएको थियो ।

उक्त पुल दुई जिल्लासँग जोडिएको भए तापनि अझै डेकिङ युनिट (जडान) काम हुन बाँकी रहेकाले शनिबारसम्म उक्त कार्य सकेर यातायातका साधन सञ्चालन गरिने गरी काम अघि बढेको नेपाली सेनाको चौध बाहिनी अड्डाका मेजर चिरञ्जीवी चौलागाईंले जानकारी दिए ।

असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीले बनेपा–बर्दीबास बिपी राजमार्ग र रामेछाप र सिन्धुली जोड्ने खुर्कोट पुलमा समेत क्षति पुर्‍याएपछि रामेछाप, सिन्धुली, दोलखा, ओखलढुंगा, सोलुखुम्बुु, खोटाङ, भोजपुर, उदयपुर, काभ्रे र सिन्धुुपाल्चोकलगायतका जिल्लाका नागरिकलाई आवतजावतमा समस्या उत्पन्न भएको छ ।

खुर्कोटको पुल सुनकोशी नदीमा आएको बाढीले बगाएपछि अहिले वैकल्पिक रुट प्रयोग गरी सवारीसाधनहरू सञ्चालन हुँदै आएका छन् ।

खुर्कोटको पुल बाढीले बगाएपछि उक्त पुल निर्माण गर्न रामेछापका प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्राेत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को पहलमा बगाएको पुल चाँडै निर्माण सम्पन्न हुन लागेको हो ।

Visit homepage : www.eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *